राक्सिराङमा परम्परागत अम्रिसोको कुचो बनाउने तालिम

पालिका डायरी
१४ मंसिर २०८०, २१:०७
राक्सिराङमा परम्परागत अम्रिसोको कुचो बनाउने तालिम

हेटौडा / मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा महिलाहरुलाई परम्परागत अम्रिसोबाट कुचो बनाउने एकदिने तालिम दिइएको छ । गैर सरकारी संस्था बिघ्नहर्ता नेपालले गाउँपालिकाका विभिन्न वडाका महिलाहरुलाई कुचो बनाउने प्रशिक्षकको रुपमा तयार गर्ने उद्धेश्यले तालिम दिइएको हो ।

तालिममा चेपाङ समुदायका एक दर्जन महिला सहभागी थिए । उनीहरुलाई प्रशिक्षक बेद प्रसाद भट्टराईले गाउँघरमै उत्पादन हुने अम्रिसोबाट कुचो बनाउने प्रशिक्षण दिए । गाउँघरमा महिलाहरुले परम्परादेखि नै जानेको कुचो बनाउने कामलाई ब्यवसायिक सीपको रुपमा विकास गरि आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको बिघ्नहर्ता नेपालका कार्यकारी उपाध्यक्ष रजिया बानुले बताउनुभयो ।

महिलाहरु ब्यवसायिक रुपमा कुचो बनाउन दक्ष रहेको प्रमाणित गर्न प्रमाणपत्रसमेत दिइएको उहाँले बताउनुभयो । उनीहरुलाई आउँदा दिनमा प्रशिक्षकको रुपमा परिचालन गरिने उहाँको भनाई छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले स्थानीय उत्पादनलाई ब्यवसायिक रुपमा विस्तार गर्न तालिम फलदायी हुने बताउनुभयो । विपन्न चेपाङ समुदायको जीवनस्तर र आयस्तर सुधार गर्न सीपमुलक कार्यक्रममा जोड दिइएको उहाँको भनाई छ ।

बिघ्हर्ता नेपालले केहि बर्षयता राक्सिराङ गाउँपालिकाका विभिन्न वडाहरुमा अम्रिसो खेतीको प्रबर्द्धन गरिरहेको छ। अम्रिसो भीरालो पाखा, खोरीयाजस्ता बाँझो जमिनमा पनि सहजै उत्पादन गर्न सकिने भएकाले राक्सिराङमा यसको खेती गरि ब्यवसायिक लाभ लिन सकिने संस्थाका कार्यकारी उपाध्यक्ष बानु बताउँछन ।

अम्रिसोको कुचो तयार गरि बाँकी बसेको ढाँठबाट नेपाली कागज उत्पादन गर्न सकिन्छ । सो कागजबाट विभिन्न झोला, माला, श्रृङगार तथा गिफ्ट समानहरु तयार गर्न सकिने बानुको भनाई छ। आफुहरुले परिक्षणको रुपमा विभिन्न सामाग्री तयार गरि प्रबर्द्धन थालेको उहाँले बताउनुभयो ।

अम्रिसोबाट कागज उत्पादनका लागि राक्सिराङ गाउँपालिकामा कारखाना राख्ने योजना समेत छ । यसका लागि गाउँपालिकाले सहमति जनाइसकेको र आवश्यक जग्गा खोज्ने काम भइरहेको संस्थाका कार्यक्रम संयोजक लोक प्रजाले बताउनुभयो ।

प्रतिक्रिया