भीमफेदीका मोतियाबिन्दु लागेका ४६ जनाको निशुल्क शल्यक्रिया

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिकामा मंसिर ६ र ७ गते सम्पन्न भएको निःशुल्क आँखा शिविरमा २ सय ५३ जनाले आँखाको परिक्षण गराएका थिए । जसमध्ये ४६ जनामा मोतियाबिन्दु देखिएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।
सामुदायिक आँखा अस्पताल हेटौंडाको प्राविधिक सहयोगमा भीमफेदी गाउँपालिकाको आयोजनामा मङ्सिर ६ भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र र मंसिर ७ गते भैसे स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर भएको थियो । शिविरमा भीमफेदीमा १३४ र भैसेमा ११९ जनाले आखाको परिक्षण गराएका थिए आँखा परीक्षणबाट मोतियाबिन्दु देखिएकाहरूलाई गाउँपालिकाले यातायातको ब्यवस्था गरेर यही मंसिर ९ र १० गते सामुदायिक आँखा अस्पताल हेटौंडामा शल्यक्रिया गरिएको अध्यक्ष लामाले बताए ।
आँखाको शल्यक्रिया गरे पश्चात ७० वर्षीय माया घलानले दुखी गरिबको सेवा गर्ने जनप्रतिनिधि पाउँदा खुसी लागेको बताइन । तस्तै ७६ वर्षीय डिल बहादुर रेग्मीले हामी जस्तो आँखा नदेख्नेको सेवा गर्ने जनप्रतिनिधिको कहिले नराम्रो नहोस् भन्दै खुशी व्यक्त गरे शिविरमा २४ जना पुरुष र २२ जना महिलाले आँखाको शल्यक्रिया गराएको गाउँपालिकाको उपाध्यक्ष सन्जिव श्रेष्ठले बताए ।