राक्सिराङ्गकाे ठाडेचुरीमा आयुर्वेद औषधालय भवनको शिलान्यास
हेटौंडा / राक्सिराङ्ग गाउँपालिकामा आयुर्वेद औषधालय भवन बन्ने भएको छ । वन जङ्गलमा पाइने जडीबुटीको प्राचीन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जन्म जयन्तिको अवसरमा राक्सिराङ्गकाे ५ नम्बर वडा ठाडेचुरीमा शुक्रबार आयुर्वेद औषधालय भवनको शिलान्यास गरिएको हो ।
भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिका भित्रका विभिन्न जडिबुटीको संरक्षण गर्न हामी सबैको महत्वपूर्ण भूमिका रहेको बताए । हाम्राे गाउँ ठाउँ र जङ्गलमा पाइने जडिबुटीबाट बन्ने औषधिले कुनै शारीरिक असर नपर्ने भएकोले पछिल्लो समयमा आम मानिसकाे आयुर्वेदिक उपचार तर्फ आकर्षण बढ्दै गएको समेत बताए ।
गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २० लाख बजेट मार्फत ५ कोठे भवनको लागि स्थानीय ८६ वर्षीय बृद्ध रामबहादुर प्रजाले २ कठ्ठा १० घुर जग्गा दान दिएपछि भवन निर्माणको लागि बाटो खुलेको आयुर्वेद शाखा प्रमुख राम बचन शाहले बताए। जग्गा दान दिने प्रजालाई गाउँपालिका अध्यक्ष राजकुमार मल्लले ढाका टोपी, दोसल्ला ओढाई सम्मान गरे।
उक्त शिलान्यास कार्यक्रमको बीच ४० जना सेवाग्राहीको स्वास्थ्य परिक्षण गरि आयुर्वेदिक औषधि वितरण गरिएको आयुर्वेद शाखा प्रमुख शाहले जानकारी दिए। शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल सहित उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला, वडा नम्बर ३ का अध्यक्ष उत्तम वाइबा, ५ नम्बर वडा अध्यक्ष हरि बहादुर प्रजा, ७ का अध्यक्ष राम बहादुर प्रजा, ८ का अध्यक्ष युसाई प्रजा र ९ को अध्यक्ष राजकुमार थिङ्ग, कार्यपालिका सदस्य, कर्मचारीहरु लगायतको आतिथ्यता रहेको थियो ।