राष्ट्रिय कृषि गणना : कृषक परिवारको संख्या बढ्यो, कृषि चलन जग्गाको क्षेत्रफल घट्यो

पालिका डायरी
२१ कार्तिक २०८०

बागमती प्रदेशमा कृषि पेशा गर्ने मानिसहरको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांक अनुसार बागमती प्रदेशमा कृषि पेशा गर्ने मानिसहरको संख्या बढेको देखाएको हो । २०६८ सालको कृषि गणनाको तुलनामा १० वर्षको अवधिमा कृषक परिवारको संख्या बढेको हो । तर परिवारको संख्या बढेपनि कृषक परिवारले चलन गरेको जग्गाको क्षेत्रफल भने घटेको राष्ट्रिय कृषि गणना २०७८ ले देखाएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । सोमबार बागमती प्रदेश स्तरीय कृषि गणनाको तथ्यांक सार्वजनिक गर्दै तथ्यांक कार्यालयले कृषि गर्ने घरपरिवारको संख्या बढे पनि जग्गाको क्षेत्रफल घटेको बताएको हो । 


बागमती प्रदेशमा जम्मा घर परिवारको संख्या १५ लाख ७० हजार ९२७ रहेको उल्लेख छ । जसमा कृषक परिवार संख्या ६ लाख ६८ हजार १७७ रहेको छ भने कृषि चलन जग्गा २ लाख ८२ हजार २९२ हेक्टर रहेको कृषि गणनामा उल्लेख गरिएको छ । जसमध्ये मकवानपुरमा १ लाख ५ हजार ७९२ जम्मा घरपरिवार रहेकोमा कृषक परिवार संख्या ६७ हजार ५२३ रहेको छ भने कृषि चलन जग्गा २८ हजार २०८ हेक्टर रहेको कृषि गणनामा उल्लेख छ । 


२०६८ सालको कृषि गणनाको तुलनामा २०७८ सालमा खेतियोग्य जमिन झण्डै ११ प्रतिशतले घटेको पाइएको छ । परिवारको संख्या बढेपनि खेति गरिएको जग्गा कम हुनुमा विकासको पूर्वाधार निर्माण तथा बसाइँसराई जस्ता कारण प्रमुख रहेको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्री कुमार कार्कीले बताए । राष्ट्रिय कृषिगणना २०७८ को प्रतिवेदन समेटिएको नतिजा प्रस्तुत गर्दै निर्देशक श्रेष्ठले विशेषगरी पूर्वाधार निर्माणले खेतियोग्य जमिन घटेको निश्कर्ष निकालिएको बताए । 


मकवानपुरमा भू उपयोगको अवस्था
मकवानपुरमा रहेको कृषि चलन जग्गा २८ हजार २०८ हेक्टर रहेकोमा स्थायी बाली लागेको जग्गा ७ सय ४५ हेक्टर रहेको कृषि गणनाको तथ्यांक छ । यस्तै, अस्थायी बाली लागेको जग्गा २३ हजार ६ सय १८ हेक्टर रहेको छ भने अस्थायी बाँझो जग्गा ८ सय २७ हेक्टर रहेको तथ्यांक छ ।  यस्तै, घर, आँगन तथा गोठले ढाकेको जग्गा २ हजार १ सय ९२ हेक्टर रहेको छ भने पोखरी ३१ हेक्टर, निजी वन बनेलो ४ सय ९४ हेक्टर, स्थायी चौरचरन १ सय ६८ हेक्टर र अन्य ३८ हेक्टर रहेको कृषि गणना २०७८ को तथ्यांक छ ।


मुख्य बालीको अवस्था
बागमती प्रदेशमा मुख्यबालीको रुपमा धान, मकै, गहुँ र तरकारी लगाइने गरेको कृषि गणनाले देखाएको छ । जसमा सबैभन्दा धेरै १ लाख ३८ हजार ६९ हेक्टर क्षेत्रफलमा मकै खेति हुने गरेको उल्लेख छ । यस्तै, धान खेति १ लाख ४ हजार ५ सय ५८ हेक्टर क्षेत्रफलमा, गहुँ २४ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा हुने गरेको तथ्यांक छ भने तरकारी सबैभन्दा कम २९ हजार १ सय ११ हेक्टर क्षेत्रफलमा खेति हुने गरेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । 


जसमध्ये मकवानपुरमा पनि सबैभन्दा धेरै मकै खेति हुने गरेको कृषि गणनाले देखाएको छ । १८ हजार ६८ हेक्टर क्षेत्रफलमा मकै, ८ हजार २ सय २ हेक्टरमा धान, ४ सय ५ हेक्टरमा गहुँ तथा ४ हजार ३ सय ३३ हेक्टर क्षेत्रफलमा खेति हुने गरेको कृषि गणनामा उल्लेख छ । यो तथ्यांक हेर्दा जिल्लामा गहुँ खेति भन्दा हरियो तरकारी खेति धेरै हुने गरेको पाइन्छ । 


पशुसंख्या
कृषि गणनाको तथ्यांक अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी २९ लाख ७ हजार ४ सय २१ बाख्रा खसी बोका तथा च्याङ्ग्राको संख्या रहेको पाइएको छ । यस्तै, गाईगोरुको संख्या ५ लाख ८५ हजार ४ सय १३ रहेको कृषि गणनाले देखाएको छ भने ४ लाख ५४ हजार ४ सय ४० राँगाभैंसी रहेको तथ्यांक छ । यस्तै, सुंगुर बुंगुर १ लाख २५ हजार ५ सय ८३ रहेको छ भने भेडाको संख्या २२ हजार ६ सय रहेको कृषि गणना २०७८ को तथ्यांक छ । 


यस्तै मकवानपुरमा पनि बाख्रा खसीबोका तथा च्याङ्ग्राको संख्या धेरै रहेको तथ्यांक छ । यहाँ ३ लाख ८२ हजार ६ सय ३९ रहेको छ भने गाईगोरुको संख्या ७३ हजार २ सय २९, राँगाभैंसी २९ हजार ६ सय ८६, सुंगुर बुंगुर १० हजार ९५ र भेडाको संख्या १ सय ३० रहेको राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांक छ । 

प्रतिक्रिया