बागमती प्रदेशको नाम र राजधानी फेर्ने अभियानमा जुटेका हुन् मुख्यमन्त्री जम्मकट्टेल ?

पालिका डायरी
१७ कार्तिक २०८०
बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई १०५ सांसदको समर्थन

एकाएक बागमती प्रदेशको नाम र राजधानी फेर्ने कुराले चर्चा पाइरहेको छ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले हालै एक सार्वजनिक कार्यक्रममा बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गरिनुपर्ने अभिव्यक्ति दिएपछि यस विषयमा जिज्ञासा बढेको हो। यसैबीच तिहारपछि यो विषयमा प्रदेशसभामै कुरा उठाउने तयारीमा सत्ता गठबन्धन लागिपरेको दाबी यहाँका प्रतिपक्षी दलले गरेका छन्।

‘हिउँदे अधिवेशनको पहिलो बैठकमै यस विषयमा कुरा उठाउने तयारीमा सत्तारुढ दलहरुले कसरत गरिरहेका छन्’, राप्रपाका एक सांसदले नेपालखबरसँग भने, ‘राजधानी हेटौँडा टाढा भयो भन्ने गुनासा सदनमा धेरै छन्। नाम परिवर्तन नभए पनि राजनीतिक सहमति जुटाएर स्थान परिवर्तन गर्न सत्तारुढ दलहरु लागिपरेका छन्।’

प्रमुख प्रतिपक्षी दल एमालेले भने प्रदेशको नाम र राजधानी तोकिसकेको अवस्थामा सत्ताको आडमा परिवर्तन गर्न खोजिनु गलत भएको टिप्पणी गरेको छ। मुख्यमन्त्रीको अभिव्यक्तिले अस्थिरता निम्त्याउने खेल सुरु हुन लागेको एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।

उनले सरकारको यो कदममा जनता आफैँ पनि सचेत हुन पर्ने बताउँदै उनले थपे, ‘संसद्‌को अघिल्लो कार्यकालले बागमती प्रदेशको नामकरण लगायतका ऐतिहासिक विषयमा टुंगो लगाइसकेकोमा त्यसका विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँड्नु नै आपत्तिजनक छ। संघीयताप्रति प्रश्न उठाउने काममा बागमती सरकारले हात हाल्नु नै गलत हो।’

प्रदेशका ऊर्जा सिँचाई तथा खानेपानीमन्त्री तीर्थ लामा भने मुख्यमन्त्रीले सार्वजनिक कार्यक्रममा त्यस्तो अभिव्यक्ति दिए पनि मन्त्रिपरिषद्को बैठकमा यस विषयले प्रवेश नपाएको बताउँछन्। ‘क्याबिनेट बैठकमा नाम परिवर्तन गर्ने, राजधानी अन्यत्र सार्ने विषयमा कुनै छलफल भएको छैन’, मन्त्री लामाले भने।

तर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ प्रदेशको राजधानी हेटौँडा हुँदा अपायकजस्तो भएको गुनासो सांसदहरुबाटै आउने गरेको बताउँछन्।

मकवानपुर, चितवन र सिन्धुली बाहेकका जिल्लाका सांसदले राजधानी टाढा भयो, अपायक भयो भनेर पटक/पटक गुनासो गरिरहनुभएकै छ, सरकारका प्रवक्तासमेत रहेका मन्त्री श्रेष्ठले नेपालखबरसँग भने, ‘तर राजधानी सार्ने भन्ने विषयले सरकारमा प्रवेश पाएकै छैन। दसैँको शुभकामना आदानप्रदान कार्याक्रममा कुनै प्रसंगमा बोल्नुभएको होला। यो विषयलाई यति धेरै ठूलो रुपमा लिन जरुरी छ जस्तो मलाई लाग्दैन।’

सहज हुन्थ्यो भन्ने कुरालाई नै एमालेले ठूलो विषय बनाइरहेको टिप्पणी मन्त्री श्रेष्ठले गरे।

यसरी ट‌ुंगो लगाइएको थियो नाम र राजधानी
प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले प्रदेशको नाम बागमती र राजधानी हेटौँडा भनी टुंग्याएको थियो।

२०७६ पुस २६ गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएका थिए। प्रदेशको नाममा एउटा मात्र प्रस्ताव बागमती प्रदेशसभामा दर्ता भएको थियो।

तत्कालीन कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले राखेको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाल, विवकेशील साझाका रमेश पौड्याल र शोभा शाक्य, राप्रपाकी रीता माझी र राप्रपा संयुक्तकी रीना गुरुङ समर्थक थिए।

प्रस्तावका पक्षमा १०८ मत परेका थिए भने विपक्षमा एउटा पनि मत परेन। यस्तै प्रदेशको स्थायी राजधानी हेटौँडा तोक्ने प्रस्ताव पनि दुईतिहाइ बहुमतले पास भएको थियो। मुख्यमन्त्री डोरमणि पौडेलले दर्ता गरेको उक्त प्रस्तावमा कांग्रेसका बानियाँसँगै राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक थिए। प्रस्तावका पक्षमा १०४ मत परेका थिए भने विपक्षमा तीन मात्र।

विवेकशील साझाका तीन सांसदले काभ्रेको धुलिखेललाई स्थायी राजधानी बनाउने प्रस्ताव दर्ता गराएका थिए। तर त्यो बहुमतले अस्वीकृत भएको थियो।

प्रतिक्रिया