रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते, १० जना बेपत्ता

पालिका डायरी
२८ श्रावण २०८३, ०७:४५
पहिरोमा परेर एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु, २ जना बेपत्ता सांकेतिक तस्बीर 

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रारम्भिक विवरणअनुसार पहिरोमा परी १० जना बेपत्ता भएका छन्।

बुधबार राति करिब ८:४० बजे माथिबाट पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका हुन्। घटनाको जानकारी राति करिब ९:३० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

पहिरोमा मानिस तथा चौपायासमेत पुरिएको प्रारम्भिक जानकारी प्रहरीले जनाएको छ। स्थानीयवासीको सहयोगमा राति ११:५५ बजे २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो। उनीहरूलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएका १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरलाई मृत अवस्थामा फेला पारिएको छ।

थप उद्धार तथा खोजी कार्यका लागि बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित एसओसीओसमेत १३ जनाको प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। त्यसैगरी, बिहान ४:३० बजे रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसमेत घटनास्थलमा पुग्नुभएको छ।

घटनास्थलमा अहिले पनि उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार पहिरोमा पुरिएका तथा सम्पर्कविहीन मानिसको संख्या १० जना पुगेको छ। घटनास्थलमा फोन सम्पर्क हुन नसकिरहेका कारण थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

अविरल वर्षाका कारण उद्धार तथा खोजी कार्यमा समेत चुनौती देखिएको छ। घटनाको थप विवरण तथा बेपत्ताको अवस्थाबारे खोजी कार्यपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया