बागमती प्रदेशकाे उपत्यकाबाहेक दसैँ अवधिमा ११ जनाको दुर्घटनाबाट मृत्यु
हेटौंडा / दसैँको अवधिमा बागमती प्रदेशका (काठमाडौँ उपत्यकाबाहेक) १० जिल्लामा भएका गाडी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। यस अवधिमा बागमती प्रदेशमा ६० वटा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार कात्तिक १ देखि ११ गते (कोजाग्रत पूर्णिमा) सम्म साना-ठूला गरी ६० वटा गाडी दुर्घटनामा परेका थिए। जसमा सबैभन्दा धेरै दुईपांग्रे सवारीसाधन दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रहरी प्रवक्ता दीपक रेग्मीले जानकारी दिए।
उनका अनुसार मोटरसाइकल/स्कुटर मात्रै ७८ वटा दुर्घटनामा परेका थिए। यस्तै मझौला २ वटा र ठूला गाडी १० वटा दुर्घटनामा परेको उनले बताए। सो अवधिमा भएका ती दुर्घटनामा १ सय ९२ जना घाइते भएको प्रहरी प्रवक्ता रेग्मीले जानकरी दिए।
दुर्घटनामा मकवानपुर र चितवनका ३/३ जनाको मृत्यु भएको छ। यस्तै काभ्रेमा १, सिन्धुपाल्चोकमा १, दोलखामा २ र नुवाकोटमा १ गरी जम्मा ११ जनाको मृत्यु भएको उनले बताए।
प्रहरीले दसैँमा २ हजार ७२५ वटा सवारीसाधनलाई कारबाही गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रेग्मीले जानकारी दिए।