प्रदेश राजधानीको सुपथमूल्य पसलमा नुन मात्रै ?

चाडपर्वका बेला आम उपभोक्ता व्यापारीबाटै ठगिने गरेको विषय नौलो होइन। अरू समयमा बजारमा सजिलै पाइने अत्यावश्यक दैनिक उपभोग्य वस्तु बजारमा पाइँदैन। पाइए पनि पसलैपिच्छे फरक-फरक दर राखिएका हुन्छन्।
चाडपर्वका बेला किराना सामान खरिदमै उपभोक्ता ठगिने क्रम रोकिएकै छैन। यसरी उपभोक्ता नठिगयुन् भनेर दसैँका अवसरमा सरकारले देशभर ठाउँठाउँमा सुपथमूल्य पसल सञ्चालन गरेको छ। यस क्रममा बागमती प्रदेश सरकारले पनि प्रदेशका १३ जिल्लामा २० वटा सुपथमूल्य पसल सञ्चालन गरिएको बताएको छ। तर बागमती प्रदेशको राजधानी हेटौँडामा सञ्चालित सुपथमूल्य पसलमा नुन मात्रै पाइन्छ, दाल, चामल, चिनी, नुन, तेललगायत अन्य दैनिक उपभोग्य वस्तु पाइन्न।
त्यसैले सुपथमूल्य पसलमा किलोको १८ रुपैयाँ नुन किनेर नागरिक अन्य उपभोग्य सामान महँगो मूल्यमा बजारमै किन्न बाध्य छन्। सरकार भएर पनि चाडपर्वका बेला नागरिकलाई परेको असहजताबारे गम्भीर नभएको हेटौँडा ९ निवासी रवीन्द्र खड्काले गुनासो गरे।
दसैँका लागि रासन सामग्री किन्न आएका खड्का पसलमा जुन सामानको पनि भाउ अचाक्ली महँगो भएको बताउँछन्।
‘अघिल्ला वर्षहरुमा स्थानीय सरकरको पहलमा हेटौँडाका विभिन्न स्थानमा सुपथमूल्य पसल सञ्चालन भए पनि यो वर्ष यस्तो केही पाइएन। जसले जति मन लाग्यो, त्यतिमै बेचिरहेका छन्। हामी ठगिएरै भए पनि दसैँको किनमेल गरिरहेका छाैँ’, उनले भने।
‘यति मात्रै होइन, चिनी पाउनै मुस्किल छ। पाए पनि १ सय ३० रुपैयाँ परिरहेको छ। यो पनि पाउन मुस्किल छ’, उनले थपे। त्यसो त सरकार भएर पनि सरकार भएको अनुभूति नभएको हेटौँडा ११ का गोविन्द न्यौपाने बताउँछन्। ‘बजारमा हरेक सामानको भाउ बढाइएको छ। न सुपथमूल्य पसल छ। न त बजारमा अनुगमन नै गरिएको छ। सरकार छैन कि भन्ने लागिरहेको छ’, उनले भने।
यता सुपथमूल्य पसल सञ्चालनका लागि प्रदेश सरकारको निर्देशन पाएको साल्ट ट्रेडिङ कर्पोरेसन हेटौँडा शाखाले भने औद्योगिक क्षेत्रभित्रै रहेको आफ्नै कार्यालय हातामा ब्यानर बनाएर टाँसेको छ। जहाँ लेखिएको छ, ‘नुन केजीको १८ रुपैयाँ।’
बजारमा २५ रुपैयाँ किलो पर्ने नुन १८ रुपैयाँमा पाइए पनि ठाउँ अपायक र सबै सामान नपाइने भएपछि सर्वसाधारणको ध्यान सुपथमूल्य पसलतर्फ नगएको पाइन्छ। साल्ट ट्रेडिङ कर्पोरेसन हेटौँडा शाखाका लेखा शाखा प्रमुख मधुसुदन अधिकारी भने नुनको मूल्य मात्रै टाँस गरिए पनि आफूहरुले आवश्यकताका आधारमा तेल पनि बिक्री गरिरहेको दाबी गर्छन्।
तेल र मैदाको पिठो पनि आवश्यकताका आधारमा उपभोक्तालाई उपलब्ध गराइएको उनको भनाइ छ। त्यसो त मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथमूल्य पसल सञ्चालनका लागि निर्देशन दिएको बताउँदै हतारमा थालिएको योजना भएका कारण अपेक्षा गरिएजस्तो परिणाम नआएको प्रदेशको उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बताए।
गत वर्षहरुमा सरकारले खोलेको सहुलियत पसलमा उपभोक्ता झुम्मिने गर्थे तर, पछिल्लो समय नाम मात्रैको सुपथमूल्य पसल सञ्चालन नहुँदा ग्राहकले भनेका सबै सामान नभेटिने र बाहिरको भन्दा खासै सस्तो नहुने भएकाले सहुलियत पसलको आकर्षण घटेको छ।