कुटपिटबाट हेटौंडाका स्याङ्तानको ज्यान गयो
हेटौंडा / रूपन्देही तिलोत्तमा नगरपालिका–९ केवलानीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका बस्ने २५ वर्षीय सुरेश स्याङतान रहेका छन् ।
प्रहरीका अनुसार केवलानीस्थित एसजि रेष्टुरन्टमा दुई समूहबीच आपसी विवाद हुँदा स्याङतानमाथि कुटपिट भएको थियो । मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद हुँदा कुटपिट भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलापुर र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको घटनास्थलमा पुगेको थियो ।
प्रहरीले कुटपिटबाट घाइते भएका स्याङतान सहित ४ जनालाई उद्धार गरी उपचारको लागि मेडिकल कलेज भैरहवा पठाईएको थियो । प्रहरीका अनुसार घाइते मध्ये स्याङ्तानको अवस्था गम्भीर थियो । उनको उपचारको क्रममा सोमबार राति मुत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न नुवाकोट लिखु गाउँपालिका–४ बस्ने १९ वर्षीय रोमन तामाङ सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।