बागमती प्रदेशले हेटौंडामा मनायो संविधान दिवस

पालिका डायरी
३ आश्विन २०८०, १२:४२

हेटौंडा / हेटौंडामा संविधान दिवस मनाइएको छ । संविधान दिवस मूल समारोह समिति, बागमती प्रदेशको आयोजनामा संविधान दिवस मनाइएको हो । हेटौंडाको बुद्धचोकबाट प्रभातफेरी गर्दै मुख्यमन्त्री कार्यालय परिसरमा गएर सभामा परिणत भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, बिभिन्न थरीथरीका झाकी सहित प्रभात फेरीमा सहभागि गराइएको थियो ।

समापन कार्यक्रममा बोल्दै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानसभाबाट जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले विद्यमान संविधान निर्माण गरेको बताउनुभयो । संविधान नै भएपछि यसमा सन्निहित विशेषताको वर्णन गरिरहनु सान्दर्भिक नहुने बताउँदै उहाँले भन्नुभयो –‘संविधानका मर्म र भावनाहरूको पालना गर्न प्रतिबद्धता व्यक्त गर्नु नै हामी सबैको मूल दायित्व हो । संविधानप्रतिको ओठेभक्ति र संहिताप्रतिको विष वमन विरोधाभाषपूर्ण विषय हुन् । अन्तरवेदनाको असह्य पीडामा उत्सर्जित उच्छवास जनताको आँखाबाट बलिन्द्र धारा आँसु बनेर बहन्छ । ति आँसु पुछिदिने, अन्तरनादलाई मत्थर पार्न राहत दिने र आश्वस्त पार्ने शासकीय प्रणाली सुशासन हो ।’

संविधानले परिकल्पना गरेको यस्तै सुशासन रहेको उहाँले बताउनुभयो । सबैले संविधानको पालना, रक्षा र कार्यान्वयनमा अटल एवम् अविचल रहने दिनको रूपमा अङ्गीकार गर्नसके लोकतान्त्रिक आन्दोलनप्रति सम्मान र वीर शहीदहरू प्रति श्रद्धाञ्जली हुने बताउनुभयो । संविधानले समाजवादको सुखद् परिकल्पना गरेको छ र यसबाट समृद्ध नेपाल निर्माण गर्दै सुखी नेपालीको हसिलो मुहार हेर्ने अपेक्षा गरेको गरेको बताउनुभयो ।

प्रतिक्रिया
sambidhan diwas