हेटौंडामा मनाइयो शिक्षा दिवस, बागमती प्रदेशका उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालय पुरस्कृत
हेटौंडा / बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा राष्ट्रिय शिक्षा दिवस मनाइएको छ । कार्यक्रमका अवसरमा बागमती प्रदेशभरीमा उत्कृष्ट रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुलाई पुरस्कृत गरिएको छ ।
मन्त्रालयले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा कम्तीमा ३५ जना परीक्षार्थी सहभागी गराएको विद्यालयहरुलाई उत्कृष्टताका आधारमा छनौट गरेर पुरस्कृत गरेको छ ।
प्रदेशभरीका सामुदायिक बिद्यालयहरु मध्यमा सबै भन्दा उत्कृष्ट प्रथम स्थानमा भक्तपुरको मेधा माध्यमिक विद्यालय भएको छ । त्यसैगरी नुवाकोट जिल्लाको पृथ्वी माध्यमिक विद्यालय द्धितीय भएको छ ।
यसैगरी काठमाण्डौंको श्रम राष्ट्रिय माध्यमिक विद्यालय तृतिय भएको छ । चौथोमा काठमाण्डौंकै पृथ्वी नारायण माध्यमिक विद्यालय भएको छ । पाँचौमा काठमाण्डौंकै बलम्बु माध्यमिक विद्यालय भएको छ । उनीहरु सबैलाई आज शिक्ष दिवसका अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टे र सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले नगद पुरस्कार, प्रमाणपत्र समेत दिएर पुरस्कृत गर्नुभयो ।
यसैगरी संस्थागत विद्यालयतर्फ काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिका को रिलायन्स इन्टरनेसनल एकेडेमी, प्रथम भएको छ । त्यसैगरी द्धितीयमा काठमाण्डौंको बालुवाटारको हिज किङ्स इन्टरनेस्नल स्कुल ररहेको छ । त्यसैगरी तृतियमा काठमाण्डौंको टोखा नगरपालिकाको फ्लोरोसेन्ट माध्यमिक विद्यालय रहेको छ । तीनै वटा बिद्यालयलाई पनि नगद सहित पुरस्कृत गरिएको छ ।
कृषि, स्वास्थ्य र प्राबिधिक शिक्षा बिद्यालयमा पढाउनुपर्छ–मुख्यमन्त्री जम्मकट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले कृषि, स्वास्थ्य र प्राबिधिक शिक्षा बिद्यालयमा पढाउनुपर्ने बताउनु भएको छ । आजको कार्यक्रमको उद्घाटन् गर्दै उहाँले प्रदेश सरकारले बिद्यालयको क्षेत्रमा राम्रो काम गरेको दावि गर्नुभयो ।
शिक्षामा अरु समस्या भन्दा पनि त्रुटी पाठ्यक्रममा रहेको बताउनुभयो । अबको शिक्षा कृषि क्षेत्रमा केन्द्रीत गर्नुपर्ने उहाँको सुझाब छ । स्वास्थ्य क्षेत्रमा नर्ष र डाक्टर पढ्नका लागि धेरै शुल्क लिने गरेकोमा आपत्ति जनाउँदै उहाँले भन्नुभयो–‘अब नर्ष र डाक्टर पढाउनका लागि चाहिने शुल्क प्रदेश सरकारले तोक्छ र त्यसलाई सबैले पालना गर्नुपर्छ ।’
शिक्षामा सुधार गरे मात्र अन्यत्र पनि सुधार हुन्छ–मन्त्री मुक्तान
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले शिक्षामा सुधार गरे मात्र अन्य क्षेत्रमा सुधार हुने बताउनु भएको छ । आजको शिक्षा दिवसको कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै उहाँले शिक्षामा सुधार गरेमा सबै क्षेत्र सुध्रदै जाने बताउनुभयो ।
समाज सुधार र्गका लागि पहिलो व्यक्ति शिक्षक भएकाले उसले राम्रो शिक्षा दिन जरुरी रहेको बताउनुभयो । अब प्रदेश सरकारले माध्यमिक बिद्यालय स्तरको शिक्षा सुधार गर्नका लागि लगानी गरिरहेको बताउनुभयो ।