सुन प्रकरणमा नाम जोडिएका मन्त्री लामा भन्छन्, ‘प्रमाणित भए खुल्लामञ्चमा झुण्डिन तयार छु’
बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिञ्चाईँ मन्त्री तीर्थ लामाले सुन तस्करी प्रकरणमा संलग्नता पु्ष्टि भएका खुल्लामञ्चमा झुण्डिन तयार रहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सुन तस्करीमा संलग्नता भएको प्रमाणित गराएर देखाउन चुनौति दिए ।
‘यो सुन तस्करी प्रकरणमा तीर्थ लामा जोडिएको प्रमाणित गर्न सक्नुहुन्छ भने खुल्ला मञ्चमा गएर आम जनताको माझ झुण्डिन तयार छु,’– उनले भने ।
आफू २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताउँदै उनले काभ्रेका पत्रकार मोतिराम तिमल्सिनाले राजनीतिक भविष्य सिध्याउने उद्देश्यले सुन तस्करीमा नाम जोडेर गलत प्रचार गरेको आरोप लगाए ।
आफू पारदर्शिता, भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा निरन्तर लागिरहेको पनि उनले बताए । मलद्वारमा लुकाएर एक किलो तस्करी गर्ने बाबुलाल दोङलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिर पक्राउ गरेको थियो । उक्त सुन तस्करीमा कांग्रेस काभ्रेका सभापति समेत रहेका लामाको पनि कनेक्सन रहेको समाचारहरु बाहिरिएका थिए ।