‘नांगो गाउँ’ अमेरिकामा पनि रिलिज : न्यूयोर्क, टेक्सस र क्यालिफोर्नियाको ओपनिङ उच्च

दयाहाङ राई स्टारर फिल्म ‘नांगो गाउँ’ नेपालसहित अमेरिकामा पनि रिलिज भएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले फिल्मलाई साताको १०९ शोसहित अमेरिकी हलमा प्रदर्शनमा ल्याएको हो ।
गत शुक्रबार नेपालसहित अमेरिकामा एकै दिन रिलिज भएको फिल्मले न्यूयोर्क, टेक्सस र क्यालिफोर्नियामा उत्कृष्ट ओपनिङ गरेको सेभेन सिजनका रमेश ढकालले बताए । ‘मुख्यतः यी तीन सहरका हलमा फिल्मको ओपनिङ आकर्षक छ’ ढकालले अनलाइनखबरसँग भने, ‘नेपाली दर्शकले धेरैपछि फिल्ममा मनोरञ्जन लिएका छन् ।’
उनका अनुसार यो फिल्म टेक्ससको युलेस, ड्यालस र रिचर्डस्नसहित क्यालिफोर्नियाको स्क्रामेन्टो र सान्टा रोसा, नर्थ क्यारोलिनाको ग्रीन्स बोरो, ओहायाको मेफिल्ड हाइट्स, न्यूयोर्क, भर्जिनियाको फेयरफ्याक्स र हवाईको होनोलुलुमा फिल्म रिलिज भएको हो ।
दैनिक १५ हाराहारी र साप्ताहिक १०९ शोसहित फिल्म अमेरिकामा प्रदर्शनमा आएको हो । प्रदर्शनमा आएका राज्य र सहरमा नेपाली र नेपालीभाषीको बाक्लो बसोबास छ । दयाहाङका अघिल्ला फिल्म ‘कबड्डी ४’ र ‘जारी’ले अमेरिकामा राम्रो कमाइ गरेका थिए ।
दीपेन्द्र लामा निर्देशित फिल्म ‘नांगो गाउँ’ले घरमा समेत सुखद ओपनिङ गरेको छ । सुस्ताएको नेपाली फिल्म बजारमा ‘नांगो गाउँ’ले दर्शकलाई हलसम्म तान्न सकेको छ । वितरण कम्पनी सेभेन सिजले आगामी दशैंमा ‘भष्मे डन’लाई विश्वब्यापी रिलिज गर्दैछ ।