हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले दिए सामूहिक राजीनामा

पालिका डायरी
२९ भाद्र २०८०, १०:५५

हेटौंडा / हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले सामूहिक राजीनामा दिएका छ्न् । बुधबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै सामूहिक राजीनामा दिएको हेटौंडा अस्पतालका कार्यरत बाल रोग विशेषज्ञ डाक्टर हरि खड्काले जानकारी दिए।

डाक्टरमाथि सांघातिक कुटपिट गर्नेहरूको समूहलाई कारबाही नगरेको, बिरामी डाक्टरहरूको उपचारमा सरकार पक्षले कुनै जिम्मेवारी नलिएको तथा चिकित्सकमाथिको ज्यादतीका विरुद्ध प्रशासन मौन बसेको भन्दै सामूहिक राजीनामा दिएको खड्काको भनाई छ। उनीहरूले आजदेखि इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलनसमेत थालेका छन्।
‘हामीले घटना घटेको ४८ घण्टासम्म कुर्‍यौं। तर पीडितले न्याय पाउने छाँट नदेखिएपछि राजीनामा दिने निर्णयमा पुगेका हौं।’ डाक्टर हरि खड्काले भने, ‘हाम्रो पेशा सुरक्षित छैन। डिउटी मा खटिएकै अवस्थामा पिटाई खानुपर्ने अवस्थाको अन्त्यका लागि राज्यले सोच्नुपर्ने अवस्था आएको छ। तर राज्इ यो विषयमा बेखबर जस्तै भयो।’

उनका अनुसार घटनाको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै आजबाट आकस्मिक बाहेकको सबै सेवा बन्द गरी आन्दोलनमा उत्रेको जानकारी गराएका हुन्। चिकित्सक तथा स्वास्थ्यकर्मीले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई सामूहिक राजीनामा बुझाएको बताइएको छ।
डेंगु सङ्क्रमणको कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा –१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहित केही युवाले बुधबार दुईजना डाक्टरमाथि अस्पतालभित्रै छिरेर कुटपिट गरेका थिए।

पीडित चिकित्सकहरूलाई आक्रमणकारीले प्रहरीकै अगाडि ज्यान मार्ने धम्की दिँदासमेत प्रहरी निरीह बनेको भन्दै स्वास्थ्यकर्मीहरूले आज सामूहिक उजुरीको तयारीसमेत गरेको हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी उत्सव चौलागाइँले बताए। दोषीलाई कारबाही गर्नुपर्ने चौतर्फी दबाब बढेपछि प्रहरीले सीटीईटीभी फुटेजको आधारमा डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती रमा, छोरा रोहित, छोरी रमिता तथा भतिज अनुप प्रधानलाई पक्राउ गरेको छ।

हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले दिए सामूहिक राजीनामा

प्रतिक्रिया