वृद्धाश्रमको ढोकामा सन्तान कुरिरहेका ‘बा’

सुनिता विष्ट
२८ भाद्र २०८०, १७:१०
वृद्धाश्रमको ढोकामा सन्तान कुरिरहेका ‘बा’

उमेरले ९० कटेका शिवबहादुर बस्नेत उभिएर हिँड्न सामर्थ्य हराएका उनको साहारा बनिरहेको छ, सानो लौरी। त्यही लौरी एकछेउमा राखेर कुर्सीमा बसिरहेका उनी वृद्धाश्रमको गेटमा आँखा घुमाइरहेका छन्। गेटबाट आफ्ना छोराबुहारीहरु आउलान् कि भन्ने आशामा आँखा अन्त मोड्नै चाहँदैनन्। आज बिहानैदेखि शिवबहादुर आफ्ना सन्तानलाई सम्झिएर टोलाइरहेका छन्।

‘लिन नआए पनि मुख हेर्न आउलान् कि भन्ने अलिअलि आशा लागिरहेको थियो। दिन त बित्नै लाग्यो के आउलान् र’, मधुरो स्वरमा शिवलालले भने।

उनले थपे, ‘मेरा तीनभाइ छोरा छन्। जेठो र माइलोको घर हेटौंडाको लेवटमा छ। जेठा यतै बस्छ रे। माइलो कुन देश गएको हो जान्दिनँ म, तर विदेश गएका छन् भन्थिन् बुहारीले। कान्छाले अलि माया गर्थ्यो झैं लाउँथ्यो। अलिकति पैसा उम्क्याउन पाएपछि त्यसले पनि वास्ता गर्न छोड्यो।’

चाउरिएका अनुहार तनक्क तन्काएर गेटतर्फ आँखा घुमाउँदै उनले भने, ‘त्यै पनि आज आउलान् कि भन्ने अझै लागिरहेको छ।’

सन्तानले डाँडाकाँडा ढाकेको भनेझैं उनका तीन छोराहरू छन्। उनका सन्तान विदेशतिर पनि पुगिसके। तर बुवा यहाँ छन् भन्ने थाहा हुँदा पनि फर्किएर आउँदैनन्।

शिवलालसँगै बसिरहेका ६२ वर्षीया दिलबहादुर थापा भन्छन्, ‘अस्ति त उहाँ बिरामी हुनुभएको थियो। छोराहरुलाई खबर गर्यौं। छोराहरु आउन पाउँदिन भनेपछि माइली बुहारीले एक रात अस्पतालमा कुरेर बसिन्। त्यसपछि यहीँ ल्याएर फर्किए पनि फेरि कोही आएका छैनन्।’

राम्ररी कान नसुन्ने शिवलाल हेटौंडा २ मा रहेको ओम वृद्धाश्रममा बस्न थालेको ६ वर्ष भैसक्यो। आज जसरी नै हरेक वर्षको गोकर्ण औंशीमा शिवलाललाई आफ्ना छोराहरु आउलान् कि भन्ने आशा लागिरहन्छ।

उनले भने, ‘छोराहरुको घर त हेटौंडा नै हो। उनीहरुको काम होला। त्यही भएर नआएका होलान्।’

‘आज विहानैदेखि वृद्धाश्रमको माहोल अरु समयको भन्दा अलि फरक छ। कसैका छोराहरु एक दिनको लागि भएपनि घर लिएर जान आएका छन् त कोहीले हिजै लगिसकेका छन्,’ वृद्धाश्रम सञ्चालक समितिका पदाधिकारी विष्णुलाल श्रेष्ठले भने, ‘कोही बुवाहरु घर गएको देख्दा यहाँ बस्नुहुने अरु बुवाहरुलाई पनि सन्तानको याद आयो भन्नुहुन्छ।’

‘के गर्नु आमाबुवाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुंगामुढा माथि भने झैं छ’ शिवलाललाई इशारा गर्दै उनले भने, ‘उहाँ बिहानैदेखि यही ढोकामै बसिरहनु भएको छ।’

यता, उमेरले ५ बीस लाग्नै लागेका काजिलाल श्रेष्ठका तीन छोरीहरु भने आफ्ना आमाबुवालाई भेट्न आश्रममै आइपुगे। उमेरको अंक बढेसँगै आँखाको पावर घट्दै जाँदा साहारा बनेको प्लस ५ नम्बरको पावरवाला चस्माबाट आँखा तनक्क तन्काउँदै काजिलाल भन्छन्, ‘छोरा भन्दा छोरीले माया गर्दा रहेछन्। तीनवटा छोरा छन्। उनीहरुको अनुहार नदेखेको वर्षौं भैसक्यो। सम्पत्ति कुम्ल्याएर हिँडे। अहिले छोरीहरु आश्रममै भेट्न आइपुग्छन्।’

हेटौंडा ५ पिप्ले घर भएका काजिलाल र उनकी श्रीमती विगत ९ वर्षदेखि सोही आश्रममा बस्दै आएका छन्। ‘आफ्नो नाममा भएका २/३ कठ्ठा जग्गा छोराहरुलाई भाग लगाइदिएर आफूले ६ धुरमा घर बनाएर बसेका थियौं। त्यो पनि २०७२ सालको भुकम्पले भत्कियो। अहिले यहीँ बस्छौं,’ उनले भने।

बुवाको मुख हेर्ने दिन छोराहरुको याद आएको छैन? यो प्रश्नमा काजिलालले भने, ‘हामीलाई मात्रै याद आएर के हुँदो रैछ र? उनीहरुले फोन त गर्दैनन्। सञ्चो बिसञ्चो केही सोध्दैनन्। कहाँ छ भन्नेसम्म पनि थाहा छैन। बुवाआमा भन्दा सन्तानलाई सम्पत्ति प्यारो हुँदो रहेछ। अहिले त याद आए पनि यही भनेर मन बुझाउँछौं।’

१७ जना वृद्ध र ७ जना वृद्धा रहेका यस आश्रमका आमाबुवाहरु हरेक पर्वमा आफ्ना छोराछोरी र सन्तानहरुलार्ई निकै याद गर्ने गर्छन्। दशैंमा पनि टीका थाप्न आउलान् कि भन्ने आश लागिरहने सोही आश्रममा बस्दै आएकी ९० वर्षीया कृष्णकुमारी श्रेष्ठ बताउँछिन्।

त्यसो त, चाडपर्वको समयमा आश्रममै रमाइलो गर्ने, पर्व मनाउने र मिठो खुवाउने भने गर्ने गरिएको आश्रम सञ्चालक बताउँछन्।

‘के गर्नु अरुको लाख र सन्तानको काख भन्ने उखान नै छ नि। याद त परिवारकै आइहाल्छ। हामीले त याद भुलाउनको लागि भूमिका खेल्ने न हो,’ सञ्चालक समितिका पदाधिकारी विष्णुलाल श्रेष्ठले भने।

 

प्रतिक्रिया