विभिन्न कार्यक्रम गर्दै चेपाङ जातिले न्वागी पर्व मनाउँदै
हेटौंडा / आज भदौ २२ गते चेपाङ समुदायले न्वागी पर्व मनाउदै छन्। हरेक वर्ष सामुहिक रुपमा न्वागी पर्व मनाउँदै आएका चेपाङ समुदायले आज धादिङ्गको गजुरी गाउँपालिका ५ च्याङलीमा सामुहिक रुपमा पर्व मनाउने भएका हुन्। नेपाल चेपाङ संघ केन्द्रीय समितिले आयोजनामा हुने कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेल सहभागी हुने संघका अध्यक्ष गोबिन्दराम चेपाङले बताए। ‘हरेक बर्ष विभिन्न कार्यक्रम गरेर मनाइने गरेको न्वागी पर्व यो बर्ष धादिङको गजुरीमा मनाउन लागेका छौं,’ अध्यक्ष चेपाङले भने।
घरमा नयाँ अन्न भित्रिएको खुशीयालीमा मनाइने छोनाम ९न्वागी० पर्व चेपाङ समुदायले मनाउने गर्दछन् । चेपाङ पाण्डे ९पुजारी० हरूले रातभर एकपाखे ढ्याङ्ग्रो बजाएर पान्देई घ्यासा ९पितृ मन्छाउँदै० प्रकृतिलाई पूजा गरेर छोनाम अर्थात न्वागी पर्व मनाउँछन्। उनीहरुको हरेक वर्ष घिरौंला, निबुवा, घैया धान, पिँडालु, गाभा जस्ता नयाँ अन्नबाली, तरकारी खान पूजा गर्नुपर्ने नियम छ। नयाँ बाली खान यो पूजा गरेर पर्व मनाइन्छ। यो पूजा नगरेसम्म नयाँ बाली खान नपाइने र रोग व्याध लाग्ने उनीहरुको परम्परा एवं विश्वाश रहेको छ।
राति केरा, पिँडालु, घिरौला, निबुवा, घैया धान घरमा भित्र्याएर सबै राखेर पूजा गरेर ढ्यांग्रो बजाउँदै न्वागी फलाक्ने गरिन्छ भने बेलुका देखि सुरु हुने पूजा रातभरि गरेर विहान सुझाइबुझाई गरेपछि खानेकुरा खाने गरिन्छ।
पूजा मार्फत् नै घरमा भित्रिएका अन्न कुलदेवतालाई चढाउने गरिन्छ । चेपाङ जातिले मान्ने देवीदेवता, पितृ सबैलाई चढाएर मात्र खाने गर्दछन्। चेपाङ समुदायले न्वागी पर्वमा आफूले उब्जाएको अन्नले वर्षभरि खान पुगोस् भनेर कामना गर्छन्। न्वागीमा आफन्तहरु जम्मा भएर पूजा गर्ने, ढ्यांग्रो बजाउने, आपसमा खुशीयाली साटासाट गर्छन्। न्वागी फलाक्ने काम ‘पाण्डे बा’ वा ‘पाण्डे आमा’ ले गर्छन् । परम्पराअनुसार देउताले रचेर बास दिएका व्यक्तिलाई मात्र पाण्डे बा, पाण्डे आमा भनिने चेपाङ समुदायको भनाइ छ।
यस्तै, बागमती प्रदेशको धादिङ, मकवानपुर र चितवनमा उल्लेख्य बसोबास गर्दै आएका चेपाङहरुका लागि यस पर्व मनाउन बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ। न्वागी पर्वमा सामूहिक भोज खाने, नाचगान गर्दै रमाइलो गर्ने गरिन्छ। न्वागीलाई चेपाङ जातिले सबैभन्दा ठूलो पर्वका रुपमा मनाउँछन् ।


