काठमाडौंमा पेस्तोल र गोलीसहित युवक पक्राउ

पालिका डायरी
१२ भाद्र २०८०, ११:५६
file photo

काठमाडौंमा प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट मेड इन यूएसए लेखेको एकथान पेस्तोल र ९ एमएन लेखिएको चार राउन्ड गोलीसहित काठमाडौं महानगरपालिका–७ चाबहिलका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले गुण्डागर्दी तथा लागुऔषध कारोबारमा संलग्न श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका श्रेष्ठले रामेछाप घर भई बौद्ध बस्ने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरी विसं २०६७ मा प्रहरी वृत्त बौद्धबाट ज्यान मार्ने उद्योगमा मुद्दा चलेर पाँच वर्ष कैद भुक्तानी गरिसकेको परिसर प्रमुख खत्रीले बताए। पक्राउ श्रेष्ठविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया