हेटौंडामा चोरी गर्ने सिन्धुपाल्चोकका ४ जना पक्राउ

पालिका डायरी
१० भाद्र २०८०, २०:५३
हेटौंडामा चोरी गर्ने सिन्धुपाल्चोकका ४ जना पक्राउ

बागमती प्रदेशको राजधानी हेटौंडामा चोरी गर्ने चार जना पक्राउ परेका छन् भने एकजना फरार रहेका छन् ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक पाँचपोखरी पाँचपोखरी थाङपाल-७ बस्ने वर्ष २८ वर्षीय भिमलाल लामा, सोही ठाउँ बस्ने २८ वर्षीय प्रदिप तामाङ, २९ वर्षीय आकाश तामाङ, चोरी भएको सुनका गर गहनाहरु खरिद गर्ने सोही गाउँपालिकाको वडा नंबर ६ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित रितु सुन पसलका सञ्चालक ३१ वर्षीय राजेन्द्र रसाइली रहेका छन् ।

उनीहरु काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेको र अझै फरार रहेका एकजनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए ।

एसपी रिजालका अनुसार गत ३० साउनमा हेटौंडा-९ लामसुरेधाप स्थित सुशिला साउदको घरबाट उनीहरुले सुनको सिक्री डेढ तोलाको एक थान, सुनको बाला एक तोलाको एक थान, सुनको चन्द्र हार एक तोलाको एक थान, सुनको टप ४ आनाको एक जोडी, सुनको मुन्द्रा २ आनाको एक जोडी, घडी एक थान र नगद ३० हजार रुपैयाँ चोरी गरेका थिए ।

उनीहरु गत साउन २९ गते चार जनाको समूहमा २ वटा मोटरसाइकलमा हेटौंडा आएर दिउँसोको समयमा बन्द रहेको घरहरु रेक्की गर्ने कार्य गरेर हेटौंडा बसपार्कमा बास बसेका थिए ।

त्यसको भोलिपल्ट सुशिलाको घर फोडी चोरी गरी उनीहरु साउन ३१ गते पथलैया बर्दिवास हुँदै काठमाडौं पुगेर चोरी गरेको गरगहना बिक्री गरी बिक्रीबाट आएको रकम एकअर्कामा भाग लगाएको एसपी रिजालले बताए ।

प्रहरीले उनीहरुको साथबाट प्रदेश ०२-०२८ प २४२२ नम्बरको मोटरसाइकल र सो मोटरसाइकलको सवारी दर्ता किताब, आपो कम्पनीको मोबाइल एक थान, सामसुङ कम्पनीको मोबाइल एक थान, हवाई कम्पनीको मोबाइल एक थान, आईफोन मोबाइल एक थान, चोरी भएको सुनलाई गाली पगाली बनाएको सुन जस्तो देखिने पहेलो धातुको झुम्का १ जोर, रामबिला पत्थर झुम्का जोर, पानवाला झुम्का १ जोर, सोली पट १ जोर, धानको बाला झुम्का १ जोर, औठी ४ थान, आधुनिक झुम्का १ जो आयतकार झुम्का १ जोर, पिजडा मुद्र १ जोर र नगद २४ हजार २ सय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका चारैजनालाई हेटौंडा ल्याएर उनीहरुमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट ६ दिनको म्याद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
IMG_6994