अपहरणमा परेँ भन्दै प्रहरीलाई भ्रममा पार्ने प्रजा प्रहरीको हिरासतमा

सुनिता विष्ट
१० भाद्र २०८०, २०:३८
अपहरणमा परेँ भन्दै प्रहरीलाई भ्रममा पार्ने प्रजा प्रहरीको हिरासतमा

भदौ ३ गते बिहानदेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिकाका ५ बस्ने ४६ वर्षीय कुमार प्रजा हाल प्रहरीको हिरासतमा छन्। कारण, उनी आफैंले अपहरणमा परेको भन्दै प्रहरीलाई नै भ्रमित बनाएका थिए।

मनहरी बजारमा छिमेकीसँग विवाद भएपछि बेपत्ता भएको भनिएका राक्सिराङ गाउँपालिका ५ का पास्टर समेत रहेका प्रजा मनहरी गाउँपालिका ४ सालघारी नयाँबस्ती स्थित एउटा चर्चमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

स्थानीय युवा र इलाका प्रहरी कार्यालयले खोजी गर्ने क्रममा बाहिरबाट ताला लगाएको चर्च भवनभित्र लुकेर बसेको अबस्थामा उनलाई फेला पारिएको उनले बताए। इलाका प्रहरी कार्यालय मनहरीले आइतबार बिहान ३ बजे उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय हेटौँडामा बुझाएको थियो।

छिमेकी सानुबाबु रुम्बासँगको ब्यक्तिगत लेनदेनको विषयमा मनहरी बजारमा झगडा भएपछि कुमार बेपत्ता भएका थिए। भदौ ४ गते श्रीमती आइतीमायालाई फोन गरी मलाई अपहरण गरेर लगेको छ भनेर फोन कटाएका कुमारको खोजीका लागि नेपाल चेपाङ संघ राक्सिराङ गाउँ कार्यकारिणी समिति, नेकपा एकीकृत समाजवादी राक्सिराङ गाउँ कमिटी लगायतले विज्ञप्ती नै जारी गरेको थियो।

श्रीमान खोजी पाउँ भन्दै कुमारकी श्रीमतीले समेत जिल्ला प्रहरी कार्यालय हेटौँडामा जाहेरी दरखास्त दता गराएकी थिइन्। तर प्रजा श्रीमती र अन्य परिवारका सदस्यहरुसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेको समेत खुल्न आएको प्रहरीले बताएको छ। प्रहरीले प्रजालाई मनहरी गाउँपालिका वडा ४ नयाँबस्तीस्थित सूर्यबहादुर प्रजाको घरमा आफैं लुकीछिपी बसेको पाएको थियो।

तपाईं आफैं घरबाट निस्की लुकीछिपी बसी किन अपहरण भएको भन्दै झुट्टो अफवाह फैलाउनु भएको? भन्ने प्रहरीको प्रश्नमा प्रजाले विभिन्न अश्लिल शब्दहरु बोल्दै वादविवाद गरी अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रजा माथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया