बागमती प्रदेश सभा बैठक भदौ १७ गते बस्ने
बागमती प्रदेश सभाको बैठक यहि भदौ १७ गते बस्ने भएको छ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएपछि २१ असारदेखि बस्न नसकेको प्रदेश सभा बैठक झण्डै दुई महिनापछि बस्न लागेको हो।
बागमती प्रदेश सरकारको मंगलबारको मन्त्रिपरिषद् बैठकले १७ भदौ दिउँसो १ बजेका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
बिजनेस नहुँदा लामो सयम बस्न नसकेको बैठकमा पाँचवटा ऐन दर्ताका लागि पनि प्रदेश सरकारले स्वीकृत प्रदान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले बताए।
मन्त्री श्रेष्ठका अनुसार प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति दिने निर्णय भएको छ।