आकासे पानीको भरमा खेतीगर्ने किसानलाई सोलार सिँचाइ

पालिका डायरी
४ भाद्र २०८०, १४:५६
आकासे खेतीलाई सोलार सिँचाइ

आकासे पानीको भरमा खेतीगर्ने किसानलाई रोटरी क्लब अफ नारायणघाटले सौर्य ऊर्जामा आधारित सिँचाइ आयोजना सुरु गरेको छ। माडी नगरपालिका–४ स्थित अम्रौली र विराचीका कृषकको सुविधाका लागी सोलारबाट चल्ने बोरिङ राख्न लागेको हो।

१ करोड ३६ हजार रुपैयाँको लागतमा आयोजना निर्माण गर्न लागिएको हो। माडी नगरपालिका प्रमुख ताराकाजीकुमारी महतो र क्लबका अध्यक्ष भोला लामिछानेले शिलान्यास गरे। लामिछानेले एक वर्षभित्र आयोजना पूरा गरेर समुदायलाई हस्तान्तरण गर्ने बताए। ‘उपभोक्ता लाभान्वित भएर जीवनयापन सहज भए मात्रै हाम्रो अभियान सफल हुने हो,’ लामिछानेले भने , ‘विपन्न कृषकलाई लक्षित गरेर आयोजना सुरु गरेका हौं।’ रोटरीको ग्लोबल ग्र्यान्ड बजेटबाट सिँचाइ आयोजना सुरु गरिएको हो।

करिब ६६ बिघा जग्गामा सिँचाइ गराउन लागिएको छ। आयोजनाका लागि रोटरी डिस्ट्रिक ११६० अन्तर्गतको आयरल्यान्डका  सात क्लबले सहयोग गरेका छन्। मेयर महतोले विपन्न गाउँमा रोटरीको सहकार्यले विपन्न नागरिक लाभान्वित हुने बताइन्। रोटरी क्लब डिस्ट्रिक २५९२ नेपाल भुटानका एसिस्टेन्ट गभर्नर दिनुप बरालले विश्वभरका रोटरीले उठाएको पैसाबाट बनेको ग्लोबल बजेटबाट रोटरीले सामाजिक काम गर्दै आएको बताए।

कार्यक्रममा रोटरी क्लब अफ नारायणघाटका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले स्वार्थभन्दा माथि सेवा भन्ने रोटरीको उद्देश्यलाई आत्मसात् गर्दै नारायणघाट रोटरीले सामाजिक विकासका लागि नेतृत्वदायी भूमिका खेलेको बताए। कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष गुणेश्वर महतोले खेतीयोग्य जमिन धेरै भएको तर सिँचाइ नभएको कारण अम्रौलीमा बोरिङ राख्न लागेको बताए।

प्रतिक्रिया