आज फिफा महिला विश्वकपको फाइनलमा इंग्ल्याण्ड र स्पेन भिड्दै

पालिका डायरी
३ भाद्र २०८०
आज फिफा महिला विश्वकपको फाइनलमा इंग्ल्याण्ड र स्पेन भिड्दै

फिफा महिला विश्वकपको उपाधिका लागि आज इंग्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक विश्वकपको फाइनल पुगेका दुवै टिमबीचको खेल सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा नेपाली समय अनुसार पौने चार बजे सुरु हुनेछ ।

सेमिफाइनलमा घरेलु टोली अस्ट्रेलियालाई तीन(एक गोलले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो । स्पेनले स्विडेनमाथि दुई-एक गोलको जित हात पारेको थियो ।

आजको खेल जसले जिते पनि विश्वकपले नयाँ च्याम्पियन पाउनेछ । अहिलेसम्म अमेरिकाले चार, जर्मनीले दुई र जापान तथा नर्वेले एक-एक पटक विश्वकप जितेका छन् ।

इंग्ल्यान्ड १३ महिनाको अन्तरमा दोस्रो ठूलो उपाधि जित्ने लक्ष्यमा छ । सरिना भिगमनको टोली गत वर्ष घरेलु मैदानमा युरोपियन च्याम्पियन बनेको थियो । कप्तान मिली ब्राइटले विश्वकप जित्न जीवनकै उत्कृष्ट खेल खेल्नुपर्ने प्रतिकृया दिएकी छन् । उनको टिम ५७ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्न चाहन्छ ।

सन् १९६६ मा पुरुष टिमले विश्वकप जितेयता इङलिस सिनियर टिमले पहिलो पटक विश्वकप फाइनल खेल्न लागेको हो । समूह चरणमा तीन गोल र तीन एसिस्ट गरेकी लअरेन्स जेम्सको पुनरागमनले इङल्यान्ड उत्साहित छ ।

अन्तिम १६ मा नाइजेरियाविरुद्ध रातो कार्ड पाएपछि युवा खेलाडी जेम्समाथि दुई खेलको प्रतिबन्ध लागेको थियो । भिगमन दुई फरक देशलाई विश्वकप फाइनल पुर्याउने पहिलो प्रशिक्षक हुन् । चार वर्षअघि उनको देश नेदरल्यान्ड्स अमेरिकासँग पराजित हुँदै उपविजेता बनेको थियो ।

सन् २०१५ मा डेब्यु गरेको स्पेन तेस्रो सहभागितामा फाइनल पुग्न सफल भएको हो । प्रशिक्षक होर्गे भिल्डालाई पनि इतिहास रच्ने अवसर छ । विश्वकपअघि राष्ट्रिय टिमका १५ खेलाडीले भिल्डालाई हटाउन माग गर्दै विद्रोह गरेका थिए ।

त्यसका बाबजुत फुटबल संघको साथका कारण जिम्मेवारीमै रहेका भिल्डाको टिम र इङल्यान्ड विश्वकपमा पहिलो पटक आमने सामने हुँदैछन् । पछिल्लो पटक २०२२ को युरो क्वाटरफाइनलमा भेट हुँदा इङल्यान्ड दुई एकले विजयी भएको थियो ।

प्रतिक्रिया