शैक्षिक सुधारका लागि मनहरीका १७ प्रधानाध्यापकको सरुवा
हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिकाले शिक्षा क्षेत्रको सुधार गर्ने प्रतिबद्धता सहित एकैपटकमा १७ जना प्रधानाध्यापकको सरुवा गरेको छ।
गाउँपालिकाले ‘शिक्षामा परिवर्तन’ भन्ने नाराका साथ प्राथमिक तहका प्रधानाध्यापकलाई एकैपटक सरुवा गरेको हो। शुक्रबार सरुवा भएका शिक्षकहरुलाई गाउँपालिकाले सरुवाको पत्रसहित आगामी जिम्मेवारी प्रदान गर्दै विदाई गरेको छ।
गाउँ शिक्षा समितिको साउन २९ गतेको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए। ‘गाउँपालिकाले शिक्षा र स्वास्थ्यको बजेट बढाएको छ। यस्तो अवस्थामा अब नतीजमुखी काम गर्नुपर्ने हुन्छ। त्यसकारण पहिलो चरणमा प्रअको सरुवा गरिएको हो’, उनले भने।
अध्यक्ष कालाखेतीका अनुसार शिक्षक सरुवामा कुनै पूर्वाग्रह राखिएको छैन । ‘हामीले शिक्षकसँगको सहमतिमै सरुवा गरेका हौं ।’, उनले सरुवा भएका शिक्षकहरुलाई मासिक १५ सय रुपैयाँ भत्ताको समेत व्यवस्था गरिएको बताए । ‘हाम्रो प्राथमिकता स्वास्थ्य र शिक्षा हो । प्राथमिक तहबाटै शिक्षालाई बलियो बनाएर लैजाने योजना अनुसार यसो गरिएको हो ।’, उनले दुर्गमका शिक्षकका लागि छुट्टै भत्ताको समेत व्यवस्था गर्न लागिएको जानकारी दिए ।