भोलिबाट ‘दरबार एग्रो मार्ट’ सञ्चालनमा ल्याइँदै, तयारी पूरा (तस्बिरहरु)
हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगर–४ हुप्रचौर नजिकै ‘दरबार एग्रो मार्ट’ सञ्चालनमा आउने भएको छ ।
पछिल्लो ६ वर्षदेखि कृषिलाई मुख्य पेशा बनाएर फलफूल खेतीको काम गरिरहेका पदमपोखरीका सुरज थिङले मार्ट सञ्चालनमा ल्याउन लागेका हुन् । भोलि शनिबार विधिवत् रुपमा उद्घाटन गरेर एग्रो मार्ट सञ्चालनमा ल्याउन लागिएको थिङले बताए ।
जसका लागि सम्पूर्ण तयारी पूरा भएको बताउँदै उनले भने, ‘बिशेषगरी मकवानपुरमै उत्पादन भएका रैथानेबाली तथा फलफूल र जुस खुवाउने गरी एग्रोमार्ट सञ्चालन गर्न लागेका हौं। जसको भोलि उद्घाटन गरेर विधिवत् रुपमा सञ्चालन गर्दैछौं।’
जिल्ला भित्र उत्पादित फलफूल तथा त्यसको जुस समेत खुवाउने गरी एग्रो मार्ट सञ्चालनमा ल्याउन लागिएको सञ्चालक थिङको भनाइ छ । मार्टमा स्थानीय स्तरमै उत्पादन हुने फलफूल, तरकारीहरु, फूल, स्थानीय रैथाने बालीका उत्पादनहरु रहने उनले बताए ।
स्थानीय ६ जनाले प्रत्यक्ष रोजगारी पाएको उक्त एग्रो मार्टमा ५० लाख लगानी रहेको सञ्चालक थिङले बताए । उक्त दरबार एग्रो मार्ट भोलि शनिबारबाट सञ्चालनमा ल्याइन लागेको हो ।