खोप अभियानले लम्पी स्किन रोगको संक्रमणदर घट्न थाल्यो

पालिका डायरी
३१ श्रावण २०८०, १९:४१
खोप अभियानले लम्पी स्किन रोगको संक्रमणदर घट्न थाल्यो

हेटौंडा / बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सप्ताहव्यापी खोप कार्यक्रम प्रभावकारी भएको पाइएको दाबी गरेको छ । सप्ताहव्यापी खोप अभियानको क्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले आयोजना गरेको लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि अन्तर्रक्रिया कार्यक्रममा खोप अभियान प्रभावकारी भएसँगै संक्रमणदर घट्न थालेको बताइएको हो ।

हेटौंडा १६ हटियामा रहेको जनप्रिय माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय) मा भएको अन्तर्रक्रिया कार्यक्रममा बोल्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरले लम्पी विरुद्धको खोपलाई तीव्रता दिदा रोग नियन्त्रणमा आउन थालेसँगै खोप सप्ताह प्रभावकारी बनेको बताए । खोप अभियान तीव्र गतिमा सञ्चालन गरिएपछि गाईभैँसीमा लाग्ने लम्पी स्किनको सङ्क्रमणको दर क्रमशः घट्दै गएको उनको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका अनुसार लम्पी स्किनको खोप कार्यक्रम तीव्र गतिमा सञ्चालन भएसँगै सङक्रमण दर घट्दै गएको हो ।
बागमती प्रदेशमा पहिलो पटक मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा देखिएको लम्पी स्किन सङ्क्रमणका कारण साउन अन्तिमसम्म जिल्लामा १३ हजार ९९१ पशु प्रभावित भएकोमा पाँचसय पशु मरिसकेको भेटेरिनरी अस्पताल मकवानपुरको तथ्यांक छ । विज्ञ केन्द्र प्रमुख ठाकुरले रोग नियन्त्रण गर्न जिल्लाका १० स्थानीय तहमा उपलब्ध गराइएको सात हजार डोजमध्ये ३ हजार ९ सय २५ डोज खोप लगाइएको बताए ।

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डले लम्पी स्किन रोग नियन्त्रण गर्नुको कुनै विकल्प नरहेको बताए । बागमती प्रदेशले पहिलो पटक सरकारी निकायबाट भ्याक्सिन उपलब्ध गराएको बताउँदै उनले लम्पी स्किन रोग नियन्त्रणमा मन्त्रालयपूर्ण रुपमा लागेको स्पष्ट पार्दै लम्पी विरुद्धको खोप लगाउन ढिलो भएको कारण किसानको पशुधनको क्षति भएको स्वीकार गरे ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले पशुधनको क्षति हुँदा किसानको बाँच्ने आधार नै अन्त्य हुने भएकाले प्रभावकारी रुपमा खोप अभियान, बिमा कार्यक्रम र सचेतनामूलक कामहरु गर्नपर्नेमा जोड दिए ।

लम्पी स्किन रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरबाट स्थानीय तहलाई ६ हजार एक सय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट एक हजार डोज प्राप्त भएको थियो भने खोप लगाउनका लागि १८ जना भ्याक्सिनेटर नियुक्त गरिएको थियो । सप्ताहव्यापी खोप अभियानपूर्व जिल्लामा २४ हजार ६०६ पशुलाई खोप लगाइएको थियो।

लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि हेटौंडा १६ हटियामा भएको अन्तर्रक्रिया कार्यक्रम

लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि हेटौंडा १६ हटियामा भएको अन्तर्रक्रिया कार्यक्रम

Posted by पालिका डायरी डटकम on Thursday, 17 August 2023

प्रतिक्रिया