बरामद सुन गालियो, तौल ६० किलो ७१६ ग्राम कायम

पालिका डायरी
३० श्रावण २०८०, २२:०५
बरामद सुन गालियो, तौल ६० किलोग्राम ७१६ ग्राम कायम

तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन आज (मङ्गलबार) टक्सार महाशाखामा गालिएको छ ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालिएको हो । सुनको परिमाण आजै एकिन गरिने उनले बताए ।

यसअघि सोमबार ‘ब्रेक सु’बाट सुन छुट्याउने काम गरिएको थियो । यसरी छुट्याइएको सुनको तौल ६० किलो सात सय ८९ ग्राम थियो । गालेपछि सुनको मात्रा घटेको छ ।

महाशाखाका प्रमुख आचार्यका अनुसार गालेपछिको वास्तविक तौल ६० किलोग्राम ७१६ ग्राम कायम भएको छ । प्रमुख आचार्यले गालेपछि सुनका ३४ वटा बिस्केट बनेको बताए ।

यस्तै, सुन पगाल्दा जर्ती ७३ ग्राम गएको उनको भनाइ छ ।अब सुनको गुणस्तर मापन गरिने जानकारी प्रमुख आचार्यले दिए । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो ।

सुन तस्करीमा संलग्न आशङ्कामा १७ जना हिरासतमा छन् । अहिले सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया