पहिराेमा परि मृत्यु भएका परिवारलाई ७ लाख , मन्त्री श्रेष्ठ पुगे प्रभावित परिवारकाे घरमा

पालिका डायरी
२८ श्रावण २०८०, २१:१४

सिन्धुली  हरिहरपुरगढी गाउँपालिका वडा नं.१ ककरेका पहिरो प्रभावित परिवारलाई सरकारले ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रभावित परिवारलाई आइतबार घरमै पुगेर भेटी बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रभावित परिवारलाई केही दिनभित्र बागमती प्रदेश सरकारको तर्फबाट २ लाख रुपैयाँ र नेपाल सरकारको तर्फबाट ५ लाख रुपैयाँ गरि जम्मा ७ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्दता गर्नुभएको हाे ।

यही साउन २२ गते राति मकवानपुर जिल्ला, बागमती गाउँपालिका वडा नं. ५ सिक्रे दोभानको पहिरोमा परि मकवानपुरको दुई र सिन्धुलिको दुईजना गरि ४ जनाको मृत्यु भएको थियो । दुईजना भने अझै बेपत्ता रहेका छन् । पहिरोमा परि सिन्धुलिका २३ वर्षिय शीला स्याङ्तान र ७ महिने शिशु दिव्या पहरीकाे मृत्यु भएको थियो । २६ वर्षिय जीवन पहरी र ३ वर्षे देव पहरी अझै बेपत्ता छन् ।

मन्त्री श्रेष्ठले आज परिवारलाई भेटी मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । साथै काजकिरियाका लागि मृतकका परिवारलाई उहाँले आफ्नो व्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी सिन्धुली र उद्योग बाणिज्य संघ सिन्धुलीको तर्फबाट पनि ४४ हजार बराबरको खाद्य र गैरखाद्य सामाग्री सहयोग उपलब्ध गराइएको छ ।

प्रतिक्रिया