बागमती प्रदेश सरकार हराएको भन्दै एमालेको ध्यानाकर्षण

पालिका डायरी
२८ श्रावण २०८०, १७:०३
बागमती प्रदेश सरकार हराएको भन्दै एमालेको ध्यानाकर्षण

हेटौंडा / नेकपा एमाले बागमती प्रदेश संसदीय दलले सरकार हराएको भन्दै ध्यानाकर्षण गराएकाे छ ।

विपद्को समयमा सरकार हराएको भन्दै एमालेले तत्काल संसद बैठक बोलाउन माग गरेको छ । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले विपद्को समयमा सरकार चनाखो हुनुपर्नेमा बेपत्ता भएको र प्रदेशका नागरिरको समस्यालाई वेवास्ता गरेको बताए । गत असार २१ गतेबाट स्थगित भएको सदन हालसम्म बोलाउने कुनै तयारी नभएको प्रति एमालेकाे गम्भिर ध्यानकर्षण रहेको भन्दै सरकार जनताको समस्याबाट दिनहु भागिरहेको बताए ।

नागरिकहरु रोग र भोकसँग मात्र नभै विपद्सँग पनि लडिरहेको र बाढीपहिरोले जताततै क्षति गरेको अवस्थामा जनताको आवाज बोल्ने सभानै सुचारु नगरेर सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरु भाग्ने र राज्यलाई थप व्ययभार बढाउने तर्फ लाग्नु लज्जाको विषय भएको नेता थपलियाले आरोप लगाए ।

‘चामल, दाल जस्ता दैनिक उपभोग्यवस्तुहरुको महङ्गी बढेर नागरिकहरु तड्पिरहेका छन् । तर, सरकार कहाँ छ ? कसैलाई पत्तो छैन । अधिकांश मन्त्रीहरु राजधानी हेटौँडा बस्दैनन् । जनताका प्रतिनिधि प्रदेश सभा सदस्यहरु जनताका आवाज बोल्न चाहन्छन् । तर, सरकार प्रदेश सभा बैठकका लागि व्यवस्था मिलाउन सकिरहेको छैन ।’–उनले भने ।

प्रदेश सभाको निर्वाचन सम्पन्न भई प्रदेश सभा सञ्चालन भएको ७ महिना भइसक्दा पनि कुनैपनि संसदीय समितिको पहिलो बैठक समेत बस्न नसकेको भन्दै तत्काल समितिलाई सक्रीय बनाएर सरकारका काम कारबाहीहरुको निगरानी बढाउनुपर्नेनै एमालेकाे भनाई छ ।

प्रतिक्रिया