बागमतीमा लम्पी स्किनविरुद्ध साताव्यापी खोप अभियान, १३ जिल्लाका ५० हजार पशुलाई लगाउने तयारी

पालिका डायरी
२४ श्रावण २०८०, २०:१७
बागमतीमा लम्पी स्किनविरुद्ध साताव्यापी खोप अभियान १३ जिल्लाका ५० हजार पशुलाई लगाउने तयारी

हेटौंडा / गाईभैंसीमा माहामारीकै रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि बागमती प्रदेश सरकारले सप्ताहव्यापी खोप लगाउने भएको छ। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा बिहिबारदेखि एकहप्ता अभियानकै रुपमा खोप लगाउने भएको हो।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रदेशका सबै जिल्लामा लम्पी स्किन रोग विरुद्धको खोप लगाउन लागिएको जानकारी दिइएको हो।

जिल्लास्थित भेटेरिनरी अस्पताल, स्थानीय तह लगाएतको सहकार्यमा खोप अभियान सुरु हुने पशु विकास महाशाखा प्रमुख निशान्त शर्माले जानकारी दिए। जसका लागि प्रत्येक जिल्लाका लागि भ्याक्सिनेटर नियुक्त गरिएको उनले बताए।

कुन जिल्लामा कति भ्याक्सिनेटर?
मन्त्रालयका अनुसार प्रदेशको १३ वटै जिल्लामा लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरिने छ। प्रदेशका ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत खोप लागाउने भ्याक्सिनेटर नियुक्त गरिएको हो।

जसमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ललितपुरले ६ हजार ३ सय खोप लगाउनको लागि २४ जना, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले ७ हजार खोप लगाउनको लागि १९ जना, नुवाकोटले ६ हजार खोप लगाउन १७ जना, धादिङले ५ हजार २ सय ५० खोप लागउन २६ जना, चितवनले ७ हजार ५ सय खोप लगाउन १४ जना, दोलखाले ४ हजार ५ सय खोप लागउन १३ जना भ्याक्सिनेटर नियुक्त गरेका छन्।

यस्तै, काभ्रेले ६ हजार ५ सय खोप लगाउन १२ जना खोपकर्ता नियुक्त गरेका छन् भने सिन्धुलीको विज्ञ केन्द्रले ५ हजार ५ सय खोप लगाउन २१ खोपकर्ता नियुक्त गरेका छन्। कुल १४६ जना खोपकर्ताले १३ वटै जिल्लाका लम्पी स्किन प्रभावित स्थानीय तहका पशुवस्तुमा खोप लगाइने बताइएको छ।

५० हजार पशुवस्तुमा खोप
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबारबाट सञ्चालन हुने खोप अभियानमा ५० हजार गाईभैंसीमा लम्पी स्किन विरुद्धको खोप लगाइने लक्ष्य राखेको छ। खोप अभियान पश्चात् पनि रोगको अवस्थाका आधारमा खोप कार्यलाई निरन्तरता दिने मन्त्रालले जनाएको छ।

हालसम्मको अवधिमा प्रदेश सरकार, स्थानीय निकाय तथा भेटेरिनरी अस्पतालहरुको पहलमा प्रदेशमा १ लाख ३२ हजार ९ सय गाईभैंसीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको मन्त्रालयको तथ्यांक छ।

तीव्र रुपमा फैलिएको लम्पीको नियन्त्रणका लागि प्रदेश सरकारले ७५ लाख रुपैंया बजेट विनियोजन गरेर सप्ताहब्यापी कार्यक्रम आयोजना गर्न लागिएको मन्त्रालयको दाबी छ।
कार्ययोजना बनाएरै अभियान

देशभर नै माहामारीकै रुपमा फैलिएको लम्पी रोग नियन्त्रणका लागि बागमती प्रदेश सरकारले कार्ययोजना नै बनाएर अभियान सुरु गरेको हो। लम्पी स्किन डिजिज नियन्त्रण तथा रोकथामका लागि ‘सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना २०८०’ स्वीकृत गरेर कार्यान्वयन गरिएको मन्त्रालयका सचिव शरण कुमार पाण्डेले जानकारी दिए। यही कार्ययोजना अन्र्तगत रहेर अभियान सुरु भएको बताइएको छ।

अभियानले रोग नियन्त्रण हुने अपेक्षा
लम्पी स्किन रोग नियन्त्रणको लागि बागमती प्रदेश सरकारले देशमै पहिलो पटक खोप अभियान कार्यक्रम आयोजना गर्न लागेको मन्त्रालयका सचिव शरण कुमार पाण्डे बताउँछन्। अन्य प्रदेशहरुमा यस्ता कार्यक्रमहरुको सुरुवात नभएता पनि बागमती प्रदेश सरकारले भने लम्पी रोगकोे केही हदसम्म नियन्त्रण गर्ने उदेश्यले कार्यविधि नै तयार गरेर अभियान सुरु गरिएको बताए।

‘लम्पी स्किन रोग अहिले जति फैलिएको छ, अब त्यो कम होस् भन्ने उदेश्यले खोप अभियान सुचारु गरेका हौं’ उनले भने, ‘उपचार नभएको यो लम्पी रोग नियन्त्रणको लागि अभियान सुरु गरेका हौं। खोप सँगै किसानहरुलाई यो विषयमा सजग गराउने कुरामा पनि सहजीकरण गर्छौं।’

उनले संक्रमित पशुलाई आइसोलेशनमा राख्ने देखि संक्रमित पशुबाट अर्को स्वस्थ्य पशुमा सर्न नदिन कस्ता उपाय अपनाउने भन्ने बारेमा पनि सचेतनाहरु जगाउने बताए।
सचिव पाण्डेका अनुसार अहिले यो अभियानमा ५० हजार गाईभैंसीमा खोप लगाइए पनि आवश्यकताको आधारमा यसलाई बढाउने तथा खोपकार्य सञ्चालन गरिने छ।

नफैलिएको स्थानमा खोप कार्यक्रम
कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले धेरै पशुमा संक्रमण हुने सम्भावना बढेका कारण सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको बताए।

‘रोगको संक्रमण फैलिएको स्थानमा खोप अभियान सञ्चालन गर्दा धेरै पशु मर्ने हुनसक्छ। त्यसकारण नफैलिएको स्थानमा अभियान गर्न लागिएको हो,’ उनले भने।

कुन जिल्लाका कति गाईभैंसी संक्रमित?
कृषि मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार १ लाख १० हजार ४४० गाईवस्तुमा यो रोगको संक्रमण देखा परेको छ। जसमध्ये ६ हजार २ सय ९१ पशुको मृत्यु भएको छ।

पछिल्लो तथ्यांक अनुसार प्रदेशको दोलखामा सबैभन्दा धेरै ३३ हजार ६ सय २४ गाईभैंसीमा यो रोगको संक्रमण भएको छ भने सबैभन्दा कम रसुवामा २ सय १ सय १४ पशुमा लम्पी स्किन रोगको संक्रमण देखा परेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

यस्तै, धादिङमा २४ हजार २ सय १७, काठमाडौंमा ५ हजार ३९, ललितपुरमा १ हजार ८ सय ८८, भक्तपुरमा ६ हजार ६ सय ८, नुवाकोटमा १४ हजार ८ सय ८२, रामेछापमा १४ हजार ३ सय ९१, काभ्रेमा ३० हजार ७ सय ४३, सिन्धुपाल्चोकमा २३ हजार १ सय ५७, चितवनमा १० हजार ४४, सिन्धुली २४ हजार ९० र मकवानपुरमा १३ हजार ९ सय ९१ गाईभैंसीमा यो रोगको संक्रमण भएको छ। हालसम्म १ लाख ३२ हजार ९ सय पुशमा यो रोग विरुद्धको खोप लगाइएको मन्त्रालयकाको तथ्यांक छ।

प्रतिक्रिया
press meet