मकवानपुर पहिरोमा बेपत्ता ६ जना भेटिएनन्, बागमतीले बगाएको आशंका

पालिका डायरी
२३ श्रावण २०८०, ११:५२
मकवानपुर पहिरोमा बेपत्ता ६ जना भेटिएनन्, बागमतीले बगाएको आशंका

हेटौंडा / मकवानपुरको बागमती गाउँपालिका ५ सिक्रेदोभानमा पहिरोले घर बगाउँदा बेपत्ता हुनेहरूलाई बागमती नदीले बगाएको आशंका गरिएको छ। बागमती नदी किनारमै घर रहेको उनीहरुलाई माथिबाट आएको पहिरो नदीमा मिसिँदा बगाएको हुनसक्ने आशंका गरिएको हो।

गएरातिदेखिको वर्षाका कारण लेदोसहित खसेको पहिरोमा परी ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनका २२ वर्षाीया छोरी शिला स्याङ्तान, २५ वर्षीय ज्वाइँ जीवन पहरी, ४ वर्षीय नाति मिलन, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना आएकी सिन्धुली हरिहरपुरगढी गाउँपालिका १ कोकटीका १७ वर्षीय पासाङ घिसिङ बेपत्ता भएका हुन्।

अक्कलबहादुरकी ५५ वर्षीया श्रीमती शान्तामाया ब्लोनलाई भने स्थानीयले अचेत अवस्थामा फेला पारेका थिए। तर उपचारका लागि स्थानीय स्वास्थ्यचाैकीमा लाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी सहायक निरीक्षक भीमबहादुर केसीका अनुसार पहिरोले पुरिएको घरलाई बागमती नदीले बगाएको छ। ‘घरको जग नै भेटिने अवस्था छैन’, उनले भने, ‘जेसीबी ल्याएर हेर्ने अवस्था पनि छैन। नदी बढेको छ।’

बेपत्ता ६ जनाको खोजी भइरहेको प्रहरी सहायक निरीक्षक केसीले जानकारी दिए।

प्रतिक्रिया