सांसदलाई प्रधानमन्त्रीको निर्देशन- संसदमा आफ्नो भूमिका बढाउनू
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो भूमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरूलाई संसदभित्र आ–आफ्नो भूमिकालाई वृद्धि गर्न निर्देशन दिएका हुन् ।
उनले अवरुद्ध संसद् खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरूसँग छलफल गर्ने पनि बताए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरूलाई सुशासन, समृद्धि र सामाजिक न्याय सहितको रूपान्तरणका लागि संसदमा माओवादी केन्द्रको भूमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री दाहालको निर्देशन रहेको जानकारी दिए । दाहालले सभामुखसँग दलको शीर्ष नेताहरूको बैठकपछिको विकसित घटनाक्रमहरूको बारेमा सांसदहरूलाई आवश्यक जानकारी गराइने पनि बताएको पाण्डेले जानकारी दिए ।
उनले भने, ‘संसद् सञ्चालन गर्नका लागि, सभापति लगायतका अरू विषयका लागि प्रमुख प्रतिपक्षी दलका नेताहरू लगायत अन्य मुख्य मुख्य दलका नेताहरूसँग, सँगसँगै सत्तापक्षका अरू नेताहरूसँग पनि छलफल गरेर ठोस निचोड निकालिन्छ । आज नै सभामुखले शीर्ष नेताहरूसँग छलफल बोलाउनु भएको छ । त्यो छलफलपछि आवश्यक निर्देशनहरू जानकारी गराउनेछौँ भनेर उनले निर्देशित गराउनुभएको छ ।’
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय शिक्षा ऐन, संघीय निजामती कर्मचारी ऐन र प्रहरी समायोजन ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको कुरा बताउनुभएको पाण्डेले उल्लेख गरे ।


