हेटौंडा सडकः उच्च स्तरीय छानबिन गरी पीडितलाई मुअब्जा दिएर मात्र संरचना भत्काउन जसपाको माग

पालिका डायरी
२० श्रावण २०८०, २१:२५

हेटौंडा / सत्ता गठबन्धनको घटक जनता समाजवादी पार्टी (जसपा)ले पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा बजार क्षेत्रको सडकको दायाँ बाँया २५/२५ गज भित्रको घर टहरा संरचना भत्काउनु अघि उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेको छ ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै जसपाको केन्द्रीय राजनीतिक समितिका सदस्य विद्युत बज्राचार्यले घर घत्काउनु अघि  उच्च स्तरीय छानबिन समिति बनाएर घरधनी पीडितहरुलाई मुअब्जा दिन माग गरे । हेटौंडाको सडक विस्तारमा आफ्नो घर समेत पर्ने बताउँदै उनले सरकारले यहाँको वस्तुस्थिति बुझेर मात्र कदम चाल्नु पर्ने बताए ।

वर्षौ देखि विवाद हुँदा यहाँको सडक विस्तार हुन नसकेको बताउँदै बज्राचार्यले सडक विस्तार गर्न उच्च स्तरीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने बताए ।

एसियन हाइवे जस्तो अत्यन्तै महत्वपुर्ण सडक निर्माण गर्ने काममा देखिएको जटिलतालाई हल गरी उचित मुआब्जा र सडक निर्माण कार्य सफल बनाउन यस सडकमा भए गरिएका सबै खाले षडयन्त्र, अनियमितता र निहित स्वार्थी प्रवृत्तिको उचित छानबिन गरी सत्य तत्य पत्ता लगाई समाधान गर्नका लागि नेपाल सरकारको तर्फबाट एक उच्च स्तरीय छानबिन समिति बनाउनु पर्दछ र सोही आयोगले नै यथार्थ छानबिन गरी दोषीलाई कडा भन्दा कडा कानुनी कारबाही गर्ने, पीडितलाई उचित क्षतिपुर्ति दिने र एसियन हाइवे यथासक्य निर्माण गर्न सकिनेछ भन्ने हाम्रो पार्टी जसपा नेपालको स्पष्ट धारणा छ । आशा छ यस खालको निःस्वार्थ र जनताको पक्षमा गरिने सामाजिक कार्यमा सम्पुर्ण हेटौंडा बासी जनसमुदायको असिम सहयोग रहने छ ।’ बज्राचार्यले भने ।

उनले हेटौंडाको सडक विस्तारको विषयमा जिल्लाका राजनीतिक दलहरुले एकै धारणा बनाउन र बोल्न नसकेको समेत बताए । उनले यहाँको दलहरु सत्ता शक्तिमा हुँदा नहुँदा दोहोरो चरित्र देखाउँदा घरधनी पीडितहरु समस्यामा परेको बताए । बज्राचार्यले केहिदिनमै केन्द्रीय राजधानी पुगेर यहाँको समस्याको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने र घरधनीहरुलाई मुअब्जा दिलाउन पहल गर्ने बताए ।

उनले यहाँ पीडितको नाममा यसपटक पनि विभिन्न संघर्ष समिति बनाउँदै पीडितहरुबाट पैसा असुल्ने काम भएको पाइएको बताए ।  वर्षौ अघि पनि घर टहरा भत्कने चर्चा हुँदा घरधनी पीडितबाटै पैसा असुलेर जिल्लाका केही नेताहरुले व्यक्तिगत स्वार्थमा खर्च गरेको दाबी गर्दै उनले धरधनी पीडितहरुलाई सजग रहन समेत अनुरोध गरे ।

प्रतिक्रिया