नयाँ बसपार्कमा झोला तानेर यात्रुलाई दु:ख दिने १० जना पक्राउ

पालिका डायरी
१४ श्रावण २०८०, १२:२७
एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ

नेपाल प्रहरीले काठमाण्डाैको नयाँ बसपार्कमा यात्रुको झोला जथाभाबी तानेर यात्रुलाई दुःख दिने १० जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोङ्गबुमा रहेकाे नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल अधिकारीले विभिन्न ठाउँबाट काठमाण्डाै आएका यात्रुलाई जबरजस्ती झोला तानेर हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले शनिवार हिजाे मात्र नयाँबसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये चारजना होटल सञ्चालक रहेका छन् । ‘शुरुको समयमा सम्झाइबुझाइ गरेर छाडेका छौँ, घटना दोहोरिएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ’, उहाँले भन्नुभयो । ‍याे अभियानलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष गणेश ढकालले होटल व्यवसायी सङ्घ र नेपाल प्रहरीको संयुक्त टोलीले यात्रुलाई हैरानी दिनेलाई कारबाहीका लागि अभियान सञ्चालन गरेको बताउनुभयो । यात्रुलाई दुःख तथा हैरानी दिने जो–कोहीलाई कारबाही हुनुपर्ने उहाँको भनाइ छ ।

‘यात्रुले शुरुमै आफ्नो गन्तव्यस्थल पहिचान गरी काठमाण्डाै आएका हुन्छन्, उनीहरूलाई बसपार्कमा गएर जथाभाबी झोला तान्ने तथा दुःख हैरानी दिने काम गर्नु हुँदैन, यात्रु पनि कुनै किसिमको प्रलोभनमा पर्नुहुँदैन’, उहाँले भन्नुभयो ।

सङ्घले पछिल्लो समय होटल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न तथा व्यवस्थितरूपमा होटल सञ्चालन गर्नका लागि होटलमा अनिवार्यरूपमा ‘सिसी क्यामेरा’ जडान गर्ने कामलाई समेत अगाडि बढाएको छ ।

प्रतिक्रिया