बागमती प्रदेश : लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप लगाइने

पालिका डायरी
१३ श्रावण २०८०, १२:३५
बागमतीको कृषि मन्त्रालयलाई ३ अर्ब बजेट

हेटौंडा / लम्पी स्किन रोग नियन्त्रणका लागि बागमती प्रदेश सरकारले सप्ताहव्यापी खोप कार्यक्रम गर्ने भएको छ । साउन २५ गतेदेखि ३२ गते सम्म प्रदेशका १३ वटै जिल्लाहरुमा सप्ताहव्यापी खोप कार्यक्रम आयोजना गर्न लागिएको हो। माहामारीको रुप लिएको लम्पी स्किन रोग नियन्त्रण गर्नका लागि खोप अभियान नै सञ्चालन गर्न लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौंडाले जनाएको छ।

खोप अभियान सुरु गर्नका लागि मन्त्रालयले पूर्व तयारी स्वरुप विभिन्न योजनाहरु अघि बढाएको छ। जसमा भ्याक्सिनेटर नियुक्त गर्नेदेखि स्थानीय तहमा खोप लगाउन पर्ने पशुवस्तुको तथ्यांक संकलन गरेर खोपको उपलब्धता सुनिश्चित गर्ने सम्मका योजनाहरु तयार गरिएको मन्त्रालयले जनाएको छ। यस्तै, खोपको सञ्चयको उचित प्रवन्ध मिलाउने समेत मन्त्रालयले जनाएको छ।

गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगबाट बागमती प्रदेश प्रभावित भएको छ। १३ जिल्ला रहेको बागमतीमा पछिल्लो तथ्यांक अनुसार ८३ हजार गाईवस्तुमा यो रोगको संक्रमण देखा परेको छ । जसमध्ये २ हजार २ सय ९ पशुको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार प्रदेशको सिन्धुलीमा सबैभन्दा धेरै २४ हजार ९० गाईभैंसीमा यो रोगको संक्रमण भएको छ भने सबैभन्दा कम रसुवामा २ सय ३० पशुमा लम्पीस्किन रोगको संक्रमण देखा परेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

यस्तै धादिङमा ९ हजार ५ सय ४८, काठमाण्डौंमा ९ सय ५८, ललितपुरमा ५ सय ४५, भक्तपुरमा ८ सय ३०, काभ्रेमा १ सय ३१, नुवाकोटमा ६ हजार, रामेछापमा १४ हजार ३ सय ९१, दोलखामा ५ हजार ९३, सिन्धुपाल्चोकमा ७ हजार १ सय ५, चितवनमा ६ हजार ७ सय ९९ र मकवानपुरमा ७ हजार सय ९५ गाईभैंसीमा यो रोगको संक्रमण भएको छ। हालसम्म ५९ हजार ५ सय ११ पुशमा यो रोग विरुद्धको खोप लगाइएको मन्त्रालयकाको दाबी छ।

प्रतिक्रिया