रोयल्टी वितरण पारदर्शी बनाउन रेडियो सञ्चालकहरूको माग

पालिका डायरी
९ श्रावण २०८०, ०८:३७
रोयल्टी वितरण पारदर्शी बनाउन रेडियो सञ्चालकहरूको माग

हेटौंडा । नेपालको एफएम रेडियो सञ्चालकका संस्थाहरूले गीत संगीतका स्रष्टाहरूका लागि आफूहरूले बुझाउने गरेको रोयल्टी वितरणको पारदर्शि हुनुपर्ने माग गरेका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) र रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ)ले साेमबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७५/७६ देखि एफएम रेडियोहरूले तिरिरहेको रोयल्टीको वितरण अपारदर्शी भएको पाइएकाले यसलाई पारदर्शी र वैज्ञानिक बनाउन माग गरेका हुन् ।

सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले सरकारको कुनै पनि संलग्नता नरहेको र एक गैरसरकारी संस्थाको सदस्य भएका स्रष्टाहरूलाई मात्र रोयल्टी उपलब्ध गराउँदै आएको र यसले देशभरका हजारौँ स्रष्टा र सिर्जनाको अवमूल्यन भएकाले अब वितरण पारदर्शी नभएसम्म रोयल्टी बुझाउन नसकिने अवस्था आएको बताए।

स्रष्टा र एफएम रेडियोबिचको सम्बन्ध सधैँ पवित्र र अन्योन्याश्रित रहेको भन्दै उनले यो सम्बन्धलाई केही सीमित व्यक्तिले बिगार्न नसक्ने बताए । ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानका अध्यक्ष कुमार भट्टराईले विगतमा भएका सहमति कार्यान्वयन नभएको र रोयल्टी वितरणमा केही सीमित व्यक्तिको हालीमुहाली रहेकाले यो अवस्थामा रेडियोले रोयल्टी नतिर्ने बताए । देशभर हजारौँ स्रष्टा रहेकोमा १९०० स्रष्टालाई मात्र रोयल्टी वितरण गरिनु मान्य नहुने उनको भनाइ छ ।

रेडियो ब्रोडकास्टर्स फोरमका अध्यक्ष आर के मानन्धरले रोयल्टी वितरणमा सिन्डिकेट रहेको र यो नतोडिएसम्म आफूहरूले रोयल्टी नबुझाउने बताए । तीनवटै संस्थाले एक गैरसरकारी संस्थालाई रोयल्टी बुझाउन लगाउने र त्यसलाई रेडियोको नवीकरणसँग जोड्ने अवैधानिक काम राज्यले गरेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

सरकारकै संलग्नता र सुपरिवेक्षणमा रोयल्टी वितरण गर्ने व्यवस्था गर्नुपर्ने र यो व्यवस्था नभएसम्म रोयल्टी नबुझाउने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया