हेटौंडा अस्पतालमा दुईवटा डायलाइसिस मेसिन थप, अब १४ पुग्याे

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा सोमबारबाट दुईवटा डायलाइसिस मेसिन थप गरिएको छ।
मिर्गौलाका बिरामीलाई दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउनका लागि हेटौंडा अस्पतालमा दुईवटा मेसिन थप गरिएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए। आरोग्य फाउन्डेसनले हेटौँडा ११ मा रहेको चुरेहिल अस्पतालमा सञ्चालन गरेको डायलाइसिस सेवा बन्द भएपछि हेटौँडा उपमहानगरपालिकाको पहलमा ती मेसिन हेटौँडा अस्पतालमा ल्याइएको मेयर मीना लामाले जानकारी दिइन्।
‘चुरेहिल अस्पतालमा डायलाइसिस सेवा बन्द भएपछि उपमहानगरको पहलमा मेसिनलाई हेटौंडा अस्पतालमा ल्याइएको हो। फाउन्डेसनसँग कै सहकार्यमा सोमबारबाट हेटौंडा अस्पतालमा थप दुईवटा मेसिनबाट सेवा दिन सुरुवात गरेका छौँ,’ उनले भनिन्।
मेसिन बन्द रहँदा चुरेहिलमा उपचार लिँदै आएका बिरामी सेवाबाट वञ्चित हुनुपर्ने र सेवा लिनका लागि बाहिरी जिल्ला जानुपर्ने भएपछि ती मेसिनलाई हेटौँडा अस्पतालमा ल्याइएको मेयर लामाले बताइन्।
‘हेटौंडा अस्पतालमा दुईवटा मेसिन थप गर्दा यहाँको सेवा पनि विस्तार हुने र सेवाग्राहीले बाहिरी जिल्ला जानपर्ने बाध्यता हट्ने भएकाले हामीले फाउन्डेसनका पदाधिकारीहरूसँग छलफल गरेर मेसिन हेटौंडा अस्पतालमा ल्याएका हौँ,’ उनले भनिन्।
उपमहानगरको पहलपछि मिर्गौलाका बिरामीले उपचार सेवा हेटौंडामै पाउने अवस्था बनेको हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटाले बताए।
दुईवटा डायलाइसिस मेसिन थपिएसँगै अब हेटौंडा अस्पतालमा मेसिनको संख्या १४ पुगेको छ। तर, एउटा मेसिन बिग्रिएर ममर्तको काम भइरहेकाले अहिललेलाई १३ वटा मेसिनबाट मात्रै सेवा दिन सकिने डा. सापकोटाले जानकारी दिए।
उनले हेटौंडा अस्पतालमा सञ्चालित डायलाइसिसबाट हप्तामा एक सय १० जना सेवाग्राहीलाई उपचार सेवा दिँदै आएको बताए। यस्तै, हेटौंडामा डायलाइसिस सेवा लिनका लागि थप ४५ जना बिरामी पर्खाइमा रहेको पनि डा. सापकोटाले जानकारी दिए।