मनहरी गाउँपालिकाको प्राथमिक तहका सबै प्रधानाध्याकहरूले दिए राजीनामा

पालिका डायरी
२९ असार २०८०, १७:२७
मनहरी गाउँपालिकाको प्राथमिक तहका सबै प्रधानाध्याकहरूले दिए राजीनामा

सुनिता विष्ट

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिकामा रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरूले सामूहिक राजीनामा दिएका छन्। गाउँपालिकाले विना कारण प्रधानाध्यापकहरूको सरुवा गर्न खोजेको र मिडियाबाजी गरिएको भन्दै सामूहिक राजीनामा दिएका हुन्। योग्य, सक्षम र क्षमतावान शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्न मार्गप्रशस्त गर्नका लागि राजीनामा दिइएको उनीहरूको भनाई छ।

विभिन्न कार्यक्रमहरूमा अध्यक्ष रन्जन कालाखेतीले प्रधानाध्यापकहरूको कारण विद्यालय बिग्रिएको र अब गाउँपालिकाले जसरी भए पनि प्रधानाध्यापक सरुवा गर्ने अभिब्यक्ति दिइरहेको भन्दै प्रधानाध्यापकहरूले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

‘हामी कार्यरत प्रअहरुको कस्तो दोष र कसुरमा दण्डित हुनुपर्ने हो? सहमति विपरितको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरुलाई काम गर्ने मनोबल समेत कमजोर भइरहेको परिस्थिति छ,’ राजीनामा पत्रमा लेखिएको छ।

प्रधानाध्यापकहरूले दिएको सामूहिक राजीनामा साउन १ गतेबाट लागू हुने गरी दिइएको उल्लेख छ।तर सामूहिक राजीनामा गाउँपालिका अध्यक्षलाई बुझाउन जाँदा गाउँपालिकाले नलिएको र अपमानपूर्वक फर्काइएको नेपाल शिक्षक महासंघ मनहरीका अध्यक्ष नवराज डोटेलले बताए।

संघीय शिक्षा ऐन, नियमावली तथा गाउँपालिका शिक्षा ऐन तथा नियमावलीहरुमा समेत प्रधानाध्यापक सरुवा गर्ने कुनै प्रावधान नरहेको अध्यक्ष डोटेलको भनाइ छ। यस विषयमा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीसँग थप बुझ्न खोज्दा सम्पर्क हुन सकेन।

मनहरी गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय रहेका छन्। जसमा प्राथमिक विद्यालय १८ वटा, मावि ९ वटा छन् भने निमावि ५ वटा रहेका छन्।

गाउँपालिकाले पहिलो चरणमा प्राथमिक विद्यालयको प्रधानाध्यापक सरुवा गर्ने र दोस्रो चरणमा अन्य प्रधानाध्यापकहरु सरुवा गर्ने अभिव्यक्ति दिने गरेको प्रधानाध्यापक जयराम अधिकारीले बताए।

प्रतिक्रिया