फिचर समाचार लेख्ने मकवानपुरका १२ पत्रकार पुरस्कृत

पालिका डायरी
१७ असार २०८०, १८:४३
फिचर समाचार लेख्ने मकवानपुरका १२ पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा भएकोे फिचर लेखन प्रतियोगितामा सर्वाेत्कृष्ट दुईसहित १२ जना पत्रकारलाई पुरस्कृत गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाभित्र भएका शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटनलगायतका विकासका क्षेत्रमा आधारित रहेर लेखिएको फिचर समाचारमा सर्वाेत्कृष्ट महिला तर्फ सुनिता विष्ट र पुरुष तर्फ सुमन दाहाललाई नगद १५ हजार सहित पुरस्कृत गरिएको होे । त्यस्तै, उत्कृष्ट १० मा स्मिता अर्याल, प्रतीक्षा न्यौपाने, निशा गुरुङ्, प्रिया पौडेल, सुजन ढकाल, अनिल पराजुली, रवीन ढुङ्गाना, श्रीराम अर्जुन, खेम बोलखे र जमुना तमाङ्लाई नगद १० हजारसहित पुरस्कृत गरिएको छ ।

फिचर लेखन प्रतियोगितामा १७ जनाको सहभागिता रहेको थियो । पत्रकार महासंघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल,प्रेस मञ्च नेपालका अध्यक्ष मनोज ढोडारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस सेन्टर मकवानपरकी अध्यक्ष अञ्जली थापा, पत्रकार महांसघका पूर्वअध्यक्ष राममणि दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, समाजवादी प्रेस संगठनका अध्यक्ष शिव चौलागाई र प्रेस चौतारी मकवानपुरका पूर्वअध्यक्ष हरि हुमागाईँ लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै उपमहानगरपालिकाकी प्रमुख लामाले मकवानपुुरका पत्रकारलाई राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा पुर्याउनका लागि हेटौंडा उपमहानगरले सधैं सहयोग गर्ने बताइन् । लामाले समाचार लेखनलाई बढावा दिन सदैव साथ दिने प्रतिबद्धता व्यक्त गरिन् । साथै पत्रकार र सञ्चार क्षेत्रप्रति आफुहरु सधै सकारात्मक भएको उनको भनाई थियो ।

पत्रकार महासंघका अध्यक्ष मणिराज गौतमले फिचर लेखनमा राम्रो सहभागीता जनाएर समाचार लेखेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा थप अझ बढी सक्रियता रहने अपेक्षा राखेको बताएका छन् । पत्रकारहरुलाई आर्थिक उन्नतिमा जोड्दै सशक्त बनाउन महासंघले यस्ता कार्यक्रमहरु आयोजना गर्न पाउँदा खुसी लागेको उनको भनाई रहेको थियो । निर्णायक समितिका सदस्य समेत रहेका अग्रज पत्रकार प्रताप विष्टले फिचर समाचार लेख्नु त्यति सहज नरहेको भन्दै सहभागीहरुले लेखेका समाचारको प्रशंसा व्यक्त गरेका छन् । समयसँगै पत्रकारहरुको लेखनशैलीमा विकास भएको उनको भनाई छ ।

प्रतिक्रिया
_MG_5627