प्रतिष्ठानलाई गौरवको आयोजनाका रुपमा अगाडी बढाउँछौं–मुख्यमन्त्री जम्मकट्टेल

पालिका डायरी
१४ असार २०८०, १६:०६

हेटौंडा /  मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सब आज हेटौंडामा मनाइएको छ । कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिकराम जम्मकट्टेलले यस प्रतिष्ठानलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडी बढाउने बताउनुभयो ।

आफु पहिलेका कानून मन्त्री भएको समयमानै यसको कानून निर्माण गरेर प्रतिष्ठान गठन गरेको बताउँदै उहाँले भन्नुभयो–‘म हुँदानै प्रतिष्ठान गठनका लागि कानून निर्माण गरिएको र त्यसबेला देखि अहिले सम्म प्रदेश गौरवको आयोजनाका रुपमा काम गरिएको छ । अब पनि गछौं ।’

अहिलेको अवस्थामा अस्पतालको विवादलाई समाधान गर्ने भन्दा पनि चर्काउने भएकाले थप समस्या भएको उहाँले बताउनुभयो । अर्को अस्पताल निर्माण नहुन्जेल सम्मका लागि हेटौंडा अस्पताल प्रतिष्ठान मातहत रहेको उहाँले बताउनुभयो । संघीयता कार्यान्वयन गर्ने चरणमा प्रतिष्ठान निर्माण भएको बताउनुभयो । यो प्रतिष्ठानलाई कमजार बन्न नदिने मुख्यमन्त्री जम्मकट्टेलले प्रतिवद्धता जनाउनुभयो ।

प्रतिष्ठानका संस्थापक कुलपति तथा प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानले सञ्चालन गरेको हेटौंडा अस्पताल अहिले जिल्लाको मात्र नभएर प्रदेशको गौरबको आयोजनाको रुपमा काम गरिरहेको बताउनुभयो ।

बिना अस्पतालको प्रतिष्ठान रहनै नसक्ने बताउँदै उहाँले भन्नुभयो–‘प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको यही एउटा अस्पताल बाँकी छ यसलाई पनि मास्न खोजियो भने के हुन्छ ?’ तीन वर्ष अगाडीको हेटौंडा अस्पताल र अहिलेको यो अस्पतालमा धेरै परिवर्तन भएको उहाँले बताउनुभयो । अस्पतालको राम्रो काम केही व्यक्तिलाई पाच्य नहुँदा थप समस्या भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश सरकारको गौरवको आयोजना अन्तरगत अस्पताल रहेको बताउनभयो । प्रदेश राजधानी हेटौंडामा मेडिकल सिटीका रुपमा प्रतिष्ठान रहेको बताउँदै उहाँले भन्नुभयो–‘प्रतिष्ठानका लागि आवस्यक बजेट उपलब्ध गराउनका लागि प्रदेश सरकार तयार छ । प्रतिष्ठानका लागि छुट्टै अस्पताल खोल्नका लागि हामीहरु तयार छौं ।’

प्रतिष्ठानले अहिले सम्म गरेका काम, हेटौंडा अस्पतालमा तीन वर्षको अबधिमा ल्याउन सकिएको परिवर्तनका विषयमा प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले प्रस्तुतीकरण गर्नु भएको थियो । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तान, प्रदेशसभाका सदस्यहरु मधुसुधन पौडेल, रामेश्वर श्रेष्ठ, एका लाल श्रेष्ठ, प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया