कैलाश गाउँपालिकाले ल्यायो ४८ करोड ५९ लाख बजेट

पालिका डायरी
१० असार २०८०

हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष ८०/८१ का लागि ४८ करोड ५९ लाख ७५ हजार ६ सय ८० रुपैयाँको बजेट ल्याएको छ। आइतबार पालिकाले चालू आर्थिक वर्षको भन्दा दुई करोड ५६ लाख रुपैयाँ कम बजेट ल्याएको हो। पालिकाको चालू आर्थिक वर्षको बजेट ५१ करोड १५ लाख ९८ हजार रुपैयाँ छ।

गाउँ सभाको बाह्रौँ अधिवेशनमा पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले प्रस्तुत गरेको बजेट सर्वसम्मतिले पारित भएको छ। बजेट प्रस्तुत गर्दै उपाध्यक्ष ठकुरीले संघीय सरकारबाट अनुदानमार्फत ३८ करोड २५ लाख १६ हजार पाँच सय ११ रुपैयाँ र प्रदेशबाट आठ करोड ७२ लाख ५९ हजार एक सय ६९ रुपैयाँ प्राप्त भएको जानकारी दिए।

यसैगरी आन्तरिक राजस्व, घरजग्गा रजिस्ट्रेसन दस्तुर, दहत्तर बहत्तर कर गरी एक करोड ६२ लाख आय हुने अनुमान गरिएको छ। पालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षातर्फ ९७ लाख १३ हजार, स्वास्थ्यतर्फ २३ लाख ५० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ २२ लाख, युवा तथा खेलकुद विकासतर्फ २५ लाख ५० हजार, खानेपानी तथा सरसफाइतर्फ ३० लाख र भाषा तथा संस्कृति प्रवर्द्धनका लागि १५ लाख बजेट विनियोजन गरेको छ।

यसैगरी, सडक तथा झोलुंगे पुल निर्माण गर्न ६ करोड ७९ लाख २२ हजार, भवन तथा सहरी विकासतर्फ एक करोड १३ लाख ७० हजार, विद्युततर्फ ३० लाख, विज्ञान, सूचना तथा सञ्चार प्रविधितर्फ १० लाख बजेट छुट्याइएको छ।

कृषि क्षेत्रका लागि ३६ लाख चार हजार, पशुपक्षीतर्फ ३० लाख ४१ हजार, घरेलु तथा लघु उद्योगमा ६ लाख, पर्यटन विकास तथा प्रवर्द्धनमा ३० लाख, सहकारीतर्फ दुई लाख र सिंचाइतर्फ १४ लाख ५० हजार बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया