राक्सिराङ गाउँपालिकाको कार्यक्रम ः गाउँ नगरप्रहरी राख्ने देखि स्वास्थ्य बस सञ्चालन गर्ने

पालिका डायरी
९ असार २०८०

हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँ नगरप्रहरी राख्ने भएको छ । शनिबार सार्वजनिक भएको आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटको छलफलमा सो योजना प्रस्तुत भएको हो। विपत्तीका कारण आइपर्ने समस्याहरु समाधानका निम्ती गाउँपालिकाकाले गाउँ नगर प्रहरी राख्ने याृजना ल्याएको उल्लेख छ । जसका कारण महिला हिंसा रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै गाउँनगर प्रहरी हुँदा अन्य राजश्व चुवाहटमा कमि आएर राजश्व संकलनमा बृद्धि हुने गाउँपालिकाले लक्ष्य लिएको छ ।

यस्तै तीन बर्ष भित्र हरित गाउँपालिका निर्माणका निम्ती समेत नीति तथा कार्यक्रम ल्याएको छ । यहाँका ६५ प्रतिशत जंगली क्षेत्र रहेकोले अक्सिजन व्यापारमा गाउँपालिकाले सहयोग पुर्याउने लक्ष्य राखिएको छ ।
यस्तै स्वास्थ्य क्षेत्र अन्तर्गत गाउँपालिकाले स्वास्थ बस सञ्चालनमा ल्याउने भएको छ । उक्त बस गाउँपालिकाको ९ वटै वडाका बिरामीहरुलाई अस्पतालसम्म ल्याउन र पुर्याउनका लागि प्रयोग गरिने भएको छ ।

कृषि तर्फ रैथाने बालीको उत्पादन वृद्धी एवम बीउ संरक्षणको लागि थप कृषि उपज संकलन केन्द्रहरु विस्तार गर्ने कार्यलाई निरन्तरता दिँदै वीउ संरक्षण केन्द्र स्थापना गरिने उल्लेख छ। कृषि उपजको बजारिकरणको लागि सामुदायिक संघसंस्था, समूह, सहकारीहरुको समन्वयमा सञ्चालित हाट बजारलाई अझ प्रभावकारी र व्यापक तुल्याउँदै कृषि उपज प्रदर्शनी कार्यलाई प्रतिस्पर्धी बनाईने बताइएको छ भने व्यवसायिक मौरीपालन कार्यलाई प्रोत्साहन गर्दै मौरीपालक कृषकहरुलाई उद्यमशीलता विकास तालिममार्फत महको बजारीकरण र आम्दानीलाई पूँजिकृत गर्ने व्यावसायिक सीप प्रदान गरिने भएको छ ।

मह, चिउरी र अन्य कृषि उत्पादनहरुको गुणस्तर अभिबृद्धी गरी ब्राण्डिङ्ग गर्दै उक्त उत्पादनहरुको बजारीकरणको लागि आवश्यक पहल गरिने गाउँपालिकाले लक्ष्य लिएको छ ।

प्रतिक्रिया