रोपवे सञ्चालनमा ल्याउने योजनाले पाउला पूर्णता ?

पालिका डायरी
७ असार २०८०, १३:४०
रोपवे सञ्चालनमा ल्याउने योजनाले पाउला पूर्णता?

बागमती प्रदेश सरकारले दुई दशकभन्दा लामो समयदेखि बन्द भएको काठमाडौं–हेटौंडा रोपवे फेरि ब्युँताउने योजना ल्याएको छ। जीर्ण अवस्थामा रहेको रोपवे सञ्चालन ल्याउने भन्दै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रममा यो योजनालाई समेट्ने गरी बजेट ल्याएको छ।

प्रदेश सरकारले २२ वर्षदेखि ठप्प रहेको हेटौंडा–काठमाडौं रोपवे संघीय सरकारसँगको साझेदारीमा फेरि सञ्चालनमा ल्याउन १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

संघीय सरकारको पूर्ण स्वामित्वमा रहेको रोपवे प्रदेश सरकार मातहत ल्याएर पुनःसञ्चालनमा ल्याउनका लागि प्रदेशले जोड दिएको हो। यद्यपी, यो विषयमा अध्ययन अनुसन्धान भने गर्नैै बाँकी रकेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव शंकरप्रसाद पण्डित बताउँछन्।

यो बहुवर्षीय योजनाको रुपमा अगाडि बढाउन लागिएको हो। उनले भने, ‘प्रदेश सरकारले छुट्याएको १ करोडले यो वर्षमै निर्माण गरिहाल्ने भन्ने होइन। यो वर्ष त अध्ययन गर्न र संघीय सरकारसँग छलफल गरेर कुन लयमा जाने भन्नेमै समय लाग्न सक्छ।’

जीर्ण अवस्थामा रहेको रोपवे सञ्चालन गर्न सम्भव देख्नुहुन्छ? नेपालखबरको यो प्रश्नमा सचिव पण्डितले भने, ‘सम्भव नै नहुने भन्ने हुँदैन। कुनै छलफल बिनै हचुवामा बजेट छुट्याएको त हुँदैन। तर पनि केही चुनौतीहरु भने अवश्य पनि छन्।’उनले अहिले नै काठमाडौंसम्म रोपवे लैजान सम्भव नभएपनि मातातिर्थसम्म पुर्याउन सम्भव रहेको बताए।

‘हेटौंडादेखि मातातिर्थसम्मको लाइनमा कुनै रोकतोक नआए पनि काठमाडौं क्षेत्रमा रोपवे पुर्याउन सम्भव छैन’ उनले भने, ‘ठूला बिल्डिङहरुले गर्दा रोप वे सञ्चालनमा ल्याए पनि मातातिर्थसम्म मात्रै पुर्याउन सकिएला कि भन्ने लागेको छ।’

यस्तै, प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल हाल जीर्ण अवस्थामा रहेको रोपवेको सबै समान हटाएर नयाँ प्रविधिबाट सञ्चालनमा ल्याउने बताउँछन्। आगामी आर्थिक वर्षको लागि उक्त शिर्षकमा विनियोजन भएको बजेटले बिस्तृत अध्ययन गर्ने, सम्भाव्यताको पहिचान गर्ने तथा पहिलो चरणको काम सुरु गर्ने योजना रहेको मन्त्री दुलालले बताए।

‘त्यहाँ भएका सामान कुनै प्रयोग गर्ने नै होइन, यो कुरा स्पष्ट हुनुपर्छ’ उनले भने, ‘हामीले त्यो ठाउँलाई मात्रै प्रयोग गर्ने हो।’ उनले थपे, ‘यसमा दुईवटा विकल्पको बारेमा हामीले प्रारम्भिक छलफल गरेका छौं। एउटा स्रोत शक्तिबाट चल्ने रोपवे अथवा केबलकारको प्रयोग गरेर काठमाडौं–हेटौंडालाई सञ्चालन गर्न सकिन्छ भन्ने छलफल भएको छ भने दोस्रो चाहिँ अहिले स्काई वाटर भन्ने नयाँ प्रविधि मार्फत पनि यसलाई सञ्चालनमा ल्याउने विषयमा सम्भाव्यता अध्ययन गरिएको छ।’

मन्त्री दुलालका अनुसार लगानी पहिचानका लागिसमेत हाल थोरै बजेटबाट पनि योजना सुरु गर्न लागिएको हो। ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी स्रोत पहिचान गरेर बहुवर्षीय योजनाको रुपमा भएपनि रोपवे सञ्चालन गर्न लागिएको हो,’ उनले भने।

यस्तो छ इतिहास
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले हेटौंडा–काठमाडौं रोपवे सुरु गरेका थिए। चन्द्र शमशेरले सञ्चालन गरेको रोपवे तत्कालीन राजा महेन्द्रले प्रबलीकरण गरेर फेरि चलाउन लगाए। राजा महेन्द्रले २०२१ सालमा अमेरिकी आर्थिक सहयोगमा रोपवे प्रबलीकरण गरेका थिए।

तत्कालीन समयमा सञ्चालित रोपवेले प्रतिघन्टा २२ टन सामान ढुवानी गर्थ्याे। सरकारले उक्त रोपवे २०५८ साल मंसिरमा विघटन गर्ने निर्णय गरेको थियो। अहिले रोपवेका तार तथा क्यारियरहरू जीर्ण अवस्थामा छन्। त्यो बेला सञ्चालित रोपवेमा आठवटा टर्मिनल र सातवटा स्टेसन थिए। जसमा तीन सय ५३ वटा टावर थिए।

 

प्रतिक्रिया