उत्पादनले मूल्य नपाउँदा थाहाका किसान चिन्तित

पालिका डायरी
४ असार २०८०, १७:५८
उत्पादनले मूल्य नपाउँदा किसान चिन्तित

राज कुमार के.सी.

 

थाहानगर /  थाहा नगरपालिका वडा नं. ३ का कृषक भुवन सेढाईले ७ हजार बन्दाको बेर्ना रोपेका थिए । अहिले उक्त बन्दा बिक्रीका लागि तयार भैसक्यो । सामन्यतया उक्त बन्दा १० टन उत्पादन हुन्छ ।

१० रुपैंया प्रति किलोमा बेच्न पाउँदा १ लाख आम्दानी हुन्छ । सेढाईले भने, ‘तीन महिना मेहनत गर्दा १ लाख आम्दानी हुन्थ्यो ।’ उनले थपे, ‘२५ हजार लगानीमा खर्च हुँदापनि ७५ हजार बचत हुन्थ्यो । कुनै समय ५० रुपैंया किलेमा समेत बिक्री हुनगरेकोे बन्दा यसपाली प्रति किलो ३ रुपैयामा पनि बिक्न मुस्किल छ ।’

त्यस्तै थाहा नगरपालिका वडा नं. ४ फापरबारीका कृषक कुमारी तामाङले उत्पादन गरेको करिब ३ टन मुला ५÷६ रुपैयामा बिक्री हुन पनि मुस्किल छ । तामाङले भन्नुभयो, ‘लगानी नै १० हजार भन्दा बढी लाग्छ । जम्मै मुला बेच्दा २० हजार पनि आउँदैन कसरी जीवन धान्नु ?’ सेढाई र तामाङ जस्ता धेरै कृषकहरु आफुले उत्पादन गरेको तरकारी उचित मूल्य नपाउँदा चिन्तित भएका छन् ।

अन्य तरकारीको तुलनामा बन्दा र मुलाको खेती बढी भएको अवस्थामा बिक्री मूल्य निकै कम भएकोले कृषकहरु लगानी डुबेर नोक्सानीमा पर्ने भएकोले चिन्तित भएकाछन् । आर्थिक मन्दी र होटल ब्यवशायहरुको सञ्चालनमा कमी आएको कारण तरकारीको मूल्य कम भएको स्थानीय तरकारी ब्यापारीहरु बताउँछन् ।

बर्सेनी आफूले उत्पादन गरेका तरकारीले मूल्य नपाएपछि कृषकहरु बिकल्पको रुपमा बिदेशिनु बाध्यता रहेको स्थानीय कृषक तोकबहादुर लो बताउँछन् । अहिले थाहा नगरमा काउली, मुला, बन्दा, गाँजर, माछे खुर्सानी, धनिँया लगायतको तरकारी उत्पादन भईरहेको छ । अन्य तरकारीको तुलनामा बन्दा र मुलाको बिक्री मूल्य निकै कम भएकोमा कृषकहरुको गुनासो छ ।

प्रतिक्रिया