हेटौंडाका वडाध्यक्षहरुले बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई कालो झण्डा देखाउने, बहिष्कार गर्ने

पालिका डायरी
२ असार २०८०, १५:१८
हेटौंडाका वडाध्यक्षहरुले बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई कालो झण्डा देखाउने, बहिष्कार गर्ने

हेटौंडा / बागमती प्रदेशका राजधानी हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरुले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र उनका मन्त्रीहरुलाई बहिष्कार गर्ने भएका छन् ।

शनिबार हेटौंडा उपमहानगरकालिकाको बजेट सार्वजनिक कार्यक्रम पश्चात पत्रकार सम्मेलन गर्दै वडाध्यक्षहरुले प्रदेश सरकारले राजधानी हेटौंडाको विकास निर्माणको लागि कुनै बजेट विनियोजन नगरेको भन्दै घोर आपत्ती जनाए । वडाध्यक्षहरुले हेटौंडामा हुने सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीहरु सहभागि भए उनीहरुलाई कालो झण्डा देखाउँदै बहिष्कार गर्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा-१४ का वडाध्यक्ष दीपक खड्काले राजधानीको विकासका लागि बजेट विनियोजन नगरेको भन्दै आफूहरुले प्रदेशका मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउने र बहिष्कार गर्ने तयारीका साथ अघि बढ्ने तयारीमा रहेको बताए । उनले प्रदेश सरकारको बजेट पूर्वाग्राही ढंगले आएको भन्दै बजेट नसच्चिए कडा रुपमा प्रस्तुत हुन बाध्य हुने समेत उल्लेख गरे ।

पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा-१० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले प्रदेशको राजधानी हेटौंडा भएको र त्यसमा पनि १० नम्बर वडामा प्रदेशका मन्त्रालयहरु देखि प्रदेश सभा भवन लगाएत धेरै सरकारी भवनहरु भएको तर यहाँकै पूर्वाधार विकास निर्माणमा बजेट शून्य पार्नुले राजधानीलाई पछि पार्न खोजेको टिप्पणी गरे । उनले प्रदेशको राजधानी हेटौंडालाई नियोजित ढंगले बजेट नहाल्नुले राजधानी सार्न खाजेको भान भएको बताए ।

यसैगरी, हेटौंडा-१९ को वडाध्यक्ष नरनाथ सुवेदीले प्रदेश सरकारको बजेट पूवाग्राही ढंगले आएको बताउँदै बजेट संशोधन हुनुपर्ने बताए । उनले प्रदेशको बजेट पूवार्धार, रोजगारसँग नजोडिएको टिप्पणी गरे । उनले प्रदेश सरकारले आफ्नो दलका कार्यकर्ता पाल्ने ढंगले मात्रै बजेट ल्याएको दाबी गर्दै प्रदेश सरकारले बजेट सच्याउनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा-५ का वडाध्यक्ष शुशिल घिमिरे, हेटौंडा-११ की वडाध्यक्ष जुना दाहाल, हेटौंडा-१५ का वडाध्यक्ष सुनिल मोक्तानले प्रदेशको बजेट हचुवाका भरमा पहुँचवालाले पाउने गरी बनेको बताउँदै बजेट संशोधन हुनुपर्नेमा जोड दिए । हेटौंडाको विकासलाई पछि पार्न खोजिए कडा रुपमा प्रस्तुत हुने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया