हेटौँडामा गर्मी बढ्दै जाँदा दुइ दिनका लागि विद्यालयको विदा लम्बियो
हेटौंडा । हेटौँडामा गर्मी बढ्दै जाँदा दुइ दिनका लागि विद्यालयको विदा लम्बिएको छ । एक हप्ताका लागि बिदा दिएको हेटौंडा उपमहानगरपालिकाले यहाँको तापक्रम बढेकाले बिदा थप गरेको हो । उपमहानगरपालिकाले यही जेठ २७ र २८ गतेका लागि बिदा थप गरेको जनाएको छ ।
हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले शनिबार दिउँसो एक सूचना प्रकाशित गर्दै गर्मी मौसममा सुधार नआएको र सरोकारवालासँग छलफलपछि विद्यालय दुई दिन बिद्यालय बन्द रहेको जनाएको छ । जेठ ३० गतेदेखि भने बिहानी कक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न विद्यालयलाई अनुरोध समेत गरिएको छ ।
विद्यालय विदा रहेको समयमा बालबालिकालाई दिउँसो घाममा बाहिर निस्कन नदिई घरमै सुरक्षितरुपमा रहने व्यवस्था मिलाउन, बालबालिकालाई रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी हुन प्रोत्साहन गर्ने, बालबालिकालाई पोषणयुक्त खाना खुवाउने, जंकफुड, स्वास्थ्यलाई प्रतिकुल असर गर्ने खानेकुराहरु खान नदिन, नखुवाउन, स्वच्छ पानी पिउने व्यवस्था मिलाउन पनि महाशाखाले आग्रह गरेको छ ।