निरन्तर घाटामा सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग, धान्न नसकेपछि बेच्दै छ जग्गा

पालिका डायरी
२३ जेष्ठ २०८०, १८:२७
कोइला अभावले हेटौंडा सिमेन्ट उद्योग तीन हप्तादेखि बन्द

पछिल्लो समय सरकारी स्वामित्वमा रहेका उद्योग धराशायी हुने क्रम बढ्दै गएको छ। बजारमा ‘ब्रान्ड भ्यालु’ भएर पनि हेटौँडा सिमेन्ट उद्योग पनि त्यही सूचीमा थपिएको छ। केही वर्षदेखि निरन्तर घाटामा छ- यो उद्योग। घाटा हुने क्रम हरेक वर्ष बढ्दो छ।

हेटौँडा सिमेन्ट उद्योगले अहिले प्रतिबोरा सय रुपैयाँ घाटा बेहोरिरहेको छ। केही वर्ष नाफामा गएको उद्योग आर्थिक वर्ष २०७५/०७६ देखि निरन्तर घाटामा गइरहेको हो। हालसम्म उद्योग ८३ करोड रुपैयाँ घाटामा रहेको सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्त पाण्डे बताउँछन्।
‘अन्तिम वर्षको अडिट रिपोर्टअनुसार अहिले हामी ८३ करोडको घाटामा छौँ। सरकारी स्वामित्वमा रहे पनि सरकारले चासो नदिने, पुराना मेसिनहरुको मर्मतमा खर्च धेरै हुने भएकाले पनि घाटा बढ्दै गइरहेको छ’, महाप्रबन्धक पाण्डेले भने।

५ वर्षदेखि निरन्तर घाटा
उत्पादन क्षमता र बिक्रीसमेत घट्दा हेटौँडा सिमेन्ट उद्योग ५ वर्षयता निरन्तर घाटामा गइरहेको हो। उद्योगले आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म ८३ करोड रुपैयाँ नोक्सान बेहोरेको तथ्यांक छ। आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड ३६ लाख नाफा कमाएको हेटौँडा सिमेन्ट उद्योग त्यसयता भने निरन्तर घाटामा छ।

आर्थिक वर्ष (आव) २०७५/०७६ मा उद्योगले १ करोड ५ लाख नोक्सान बेहोरेको थियो। त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा २३ करोड ८२ लाख, आव २०७७/०७८ मा १७ करोड ४  लाख घाटा भयो। यस्तै आव २०७८/०७९ मा उद्योगले २३ करोड ५५ लाख घाटामा रहेको तथ्यांक छ। यस्तै चालु आवको अडिड रिपोर्टअनुसार ८३ करोडभन्दा धेरै घाटामा रहेको महाप्रबन्धक पाण्डेले बताए।

जहिले कोइला अभाव
सिमेन्ट उत्पादनका लागि अत्यावश्यक कोइलाको अभावले प्रायः यो उद्योग बन्द हुने गर्छ। सोही कारण ३ सातादेखि सिमेन्टको उत्पादन ठप्प छ। उद्योगले गुणस्तरीय कोइला भारत, इन्डोनेसिया, भुटान र पाकिस्तानबाट आयात गर्ने गरेको छ। तर समयमै कच्चा पदार्थ कोइला आपूर्ति हुन नसक्दा उद्योग बन्द हुने गरेको छ।

समस्याको चाङ
उद्योगका महाप्रबन्धक पाण्डेले वर्तमान स्थितिमा उद्योग समस्याको चाङमा रहेको बताए। पुरानो प्रविधि, बजारको अभाव, मूल्य समायोजन, कर्मचारी, उपकरण, प्रतिस्पर्धात्मक बजारलगायत समस्या उद्योगमा रहेको उनले जानकारी दिए।

उद्योगमा जडित उपकरण, मेसिनरी औजार पुरानो प्रविधि भएकाले निरन्तर उत्पादन हुन नसकेको, मेसिनरी संयन्त्रको मर्मत–सम्भारमा बढी श्रम, समय र जनशक्ति खर्चिनुपरेको, स्थानीय औद्योगिक बजार अभावका कारण मेसिन उपकरणको मर्मत, प्रतिस्थापनमा बढी समय लाग्ने, उत्पादन लागत बढी भएकाले बजारमूल्य समायोजन गर्न नसक्नुजस्ता समस्या देखिएका छन्।

यसैगरी जनशक्ति अभावले कर्मचारीलाई ओभरटाइममा लगाउनुपरेको र ओभरटाइमको रकम भुक्तानी नहुँदा कर्मचारीको कार्यगत मनोबलमा ह्रास देखिएको उनले गुनासो गरे।

‘उद्योगको सांगठनिक तालिकाअनुरूपको स्वीकृत स्थायी दरबन्दी ६ सय ५५ जना रहेको र हाल उद्योगमा २ सय २४ जना मात्रै कार्यरत छन्। चार सय ३१ स्थायी दरबन्दी खाली भएकाले उद्योगको दैनिक कार्य-सञ्चालनमा समस्या छ’, उनले भने।

सरकारको छैन ध्यान
नेपाल सरकार र एसियाली विकास बैंकको लगानीमा २०३३ सालमा स्थापना भएको यस उद्योग सरकारको स्वामित्वमा छ। तर सरकारले उक्त उद्योग टिकाउन भूमिका नखेलेको उद्योगका कर्मचारीहरुको गुनासो छ। बजेट नछुट्याउने, स्तरोन्तिका लागि चासो नदेखाउनेजस्ता कारण उद्योग टिकाउन मुस्किल परेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डे बताउँछन्।

घाटा धान्न जग्गा बिक्री
दैनिक ७ सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमताको उद्योगले अहिले आधा मात्रै उत्पादन गरिरहेको छ। उद्योगलाई नियमित चलाउन र प्रतिस्पर्धी बनाउन सरकारले कुनै नयाँ योजना बनाउन सकेको छैन। घाटा धान्न नसक्ने अवस्था भएपछि उद्योगले हेटौँडा उपमहानगरपालिका वडा नं. ९ लामसुरेमा रहेको आफ्नो ५ बिगाह जग्गा राष्ट्र बैंकलाई बेच्ने तयारी गरेको छ। जग्गा बिक्री गरेर आएको पैसाले उद्योगमा नयाँ प्लान्ट जडान गर्ने योजना छ।

प्रतिक्रिया