हेटौंडामा सम्पन्न राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई

पालिका डायरी
२० जेष्ठ २०८०
हेटौंडामा सम्पन्न राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई

हेटौंडा /  हेटौंडामा भएको ‘खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८०’को उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ ।

शनिबार बिहान हेटौंडा–४, हुप्रचौरमा भएको फाइनल खेलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले उपाधि हात पारेको हो । एपीएफले आर्मीलाई क्रमशः २५–२०, १७–२५, २५–१७ र २९–२७ सेटले हराएको हो ।

उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको आर्मीले एक लाख प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका विजयी थापा घोषित हुँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट सेटर एपीएफका सुबास कुँवर, उत्कृष्ट स्पाइकर आर्मीका शरण सामरी, उत्कृष्ट डिफेन्डर आर्मीका इश्वर थापा, उत्कृष्ट ब्लकर आर्मीका सञ्जय चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पराज मल्ल घोषित भए । उनीहरुले नगद ५–५ हजार रुपैयाँ प्राप्त गरे ।

शुक्रबार भएको सेमिफाइनल खेलमा एपीएफले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने आर्मीले नेपाल पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।

 

प्रतिक्रिया