बिनाविभागीय मन्त्री चित्रकारलाई छैन बजेट निर्माणको चटारो

पालिका डायरी
१६ जेष्ठ २०८०
बिनाविभागीय मन्त्री चित्रकारलाई छैन बजेट निर्माणको चटारो

हेटौंडा / प्रदेश सरकारहरुलाई अहिले आगामी आर्थिक वर्षको बजेट बनाउने चटारो छ। बागमती प्रदेशका ११ मन्त्रालयका मन्त्री तथा सचिवहरु बजेट निर्माणको चटारोमा लाग्दा बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकार भने फुर्सदिलो देखिन्छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एउटा कोठामा मन्त्री चित्रकारको कार्यकक्ष सञ्चालन भएको छ। मन्त्री नियुक्त भएपनि जिम्मेवारी नतोकिँदा आफ्नो काम नभएको उनले बताए। मन्त्रालयको जिम्मेवारी नहुँदा बजेट निर्माणको चटारो कम परेको मन्त्री चित्रकारको भनाइ छ। ‘बजेट निर्माणको बेला छ, छलफलमा छु। तर मन्त्रालयको जिम्मेवारी नपाउँदा अलि कामविहीन जस्तै हुनुपरेको अवस्था छ,’ उनले भने।

गत ७ गते आइतबार पद तथा गोपनियताको शपथ खाएका मन्त्री चित्रकारले १० दिनसम्म पनि मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन्। यद्यपी, उनलाई जिम्मेवारी दिनको लागि भौतिक तथा पूर्वाधार विकास मन्त्रालय फुटाएर सहरी विकास मन्त्रालय दिने तयारी भैरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोत बताउँछ।

 

प्रतिक्रिया