यौनिक लैंगिक तथा अल्पसंख्यक समुदायको प्रश्न, हामी माथिको लाल्छना कहिले अन्त्य हुन्छ ?

पालिका डायरी
१५ जेष्ठ २०८०, २१:३७

हेटौंडा / यौनिक लैंगिक तथा अल्पसंख्यक समुदायलाई गरिने लाल्छना अन्त्य नभएसम्म यस समुदायको समस्या जस्ताको त्यस्तै रहने बताइएको छ । हेटौडामा मंगलबार प्रदेश स्तरीय यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विश्वव्यापी आवाधिक समिक्षा कार्यक्रममा यस समुदायसँग सम्बन्धीत सदस्यहरुले यस्तो बताएका हुन् । उनीहरुले सरोकारवाला निकायहरुलाई इंकित गर्दै यौनिक लैंगिक तथा अल्पसंख्यक समुदाय माथिको लाल्छना कहिले अन्त्य हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

संविधानको धारा १८ मा समानताको हक लेखिएता पनि यस समुदायको हकमा भने यो धाराले अर्थ नराखेको बताइएको छ। संविधानमा अधिकारको बिषयमा लेखितापनि बास्तविक जीवनमा त्यस्तो नहुँदा लैंगिक यौनिक तथा अल्पसंख्यक समुदायले सधैं सास्ती खेप्नुपरेको उनीहरुको गुनासो छ ।

राईट हेयर राईट नाउ संस्थाको आयोजनामा भएको एक दिवासिय छलफलमा ब्लु डाईमण्ड सोसाईटीका केन्द्रिय कार्यक्रम अधिकृत रुविना तामाङ्गले विश्वव्यापी रुपमा उठीरहेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक हितका मुद्धाहरुमा नेपाल सरकारले देखाएको उदासिनताका बारेमा गुनासो गरेकी हुन् ।
यस्तै, ब्लु डाईमण्ड सोसाईटी हेटौडाका संयोजक किरण थापाले राज्यबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बारेमा नीतिगत तहबाट अप्ठ्यारा कानुनहरुलाई संसोधन गरेर मानव अधिकारको हकबाट बन्चित नगराउन आग्रह गरिन् ।

राज्यले हरेक वर्ष यो समुदायकोबारेमा कार्यक्रमहरु ल्याएपनि पहिचान सहितको मुद्धालाई सहज तरिकाले ल्याईदिन आग्रह गर्दै उनले भनिन्, ‘सरकारले हाम्रा पक्षमा नीति बनाइदियोस् । यति भए हामीलाई पहिचान लुकाएर बाँच्नुपर्ने समस्या आउँदैन ।’
कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरुले आफ्ना जिवनका भोगाईका अनुभव सुनाएका थिए ।

 

प्रतिक्रिया