बागमती प्रदेश नीति तथा कार्यक्रम आज ल्याइँदै, आफ्ना सुझाव नसमेटिए एमालेले पास हुन नदिने

पालिका डायरी
१४ जेष्ठ २०८०, ०८:४८
बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (आइतबार) ल्याउँदै छ। प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरिने भएको हो।

दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

प्रदेश सरकारले समावेशी, समानुपातिक सिद्धान्त र भूगोलका आधारमा कृषि, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको भनाइ छ।

उनका अनुसार सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याइने छ।

यता प्रदेश सरकारको प्रमुख प्रीतपक्षी दल नेकपा एमाले आफूले दिएका सुझाव र बुँदाका आधारमा सरकारले नीति तथा कार्यक्रम नल्याए संसद्‌बाट पास हुन नदिने चेतावनी दिइरहेको छ।

प्रिबजेट छलफलका बेला नै एमालेले कुरा राखेको र सरकारले यसको बेवास्ता गर्दै एकपक्षीय ढंगले नीति तथा कार्यक्रम ल्याए आफूहरुले नमान्ने एमाले बागमती सचेतक मधुसूदन पौडेलले बताए।

नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयवस्तुबारे सरकारले गत वैशाख २५ गते दलहरुसँग छलफल गरेको जानकारी दिँदै प्रमुख सचेतक पौडेलले भने, ‘छलफलका क्रममा नेकपा एमाले संसदीय दलका तर्फबाट सरकारलाई लिखित र मौखिक दुवै रुपमा सुझाव दिइएको सन्दर्भमा हाल आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाज्यूले प्रदेशसभामा प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामा हाम्रा महत्त्वपूर्ण सुझावहरुको सम्बोधन भएको पाइएन। आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा पनि हाम्रा सुझावहरु सम्बोधन भएको पाइएन भने पास हुन नदिन पनि सक्छौं।’

प्रतिक्रिया